सफा हिमाल अभियानबाट २९ हजार किलो फोहर सङ्कलन

काठमाडौं । नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ ।

तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार छ सय ३२, बरुन्चे १८ हजार पाँच सय २०, अन्नपूर्णबाट तीन हजार दुई सय ५० गरी जम्मा २९ हजार चार सय दुई किलो फोहर सङ्कलन गरिसकेको नेपाली सेनाले जनाएको छ ।

उक्त अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भइरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सीताराम खड्काले यही वैैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए । अन्नपूर्ण हिमाल सफाइ कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पुर्याएको छ ।

अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीका सदस्य सह–सेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले मिति २०८० वैशाख ०४ गतेको बिहान हिमालको सफल आरोहण गर्नुभएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत चैत १४ गते प्रधानसेनापति प्रभुराम शर्माको अभियान सुरुवातको घोषण गरेको र अभियानबाट करिब ३५ टनअर्थात् ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ ।

विश्व वातावरण दिवस (जुन ५) मा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालमा थुप्रिएको फोहर हटाउन केही सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *