काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विज्ञको रुपमा मानोनित गरेका एक म्यानपावर व्यवसायीले नियुक्ती लिन अश्विकार गरेका छन् । मन्त्री राय यादवले गत बिहीबार नियुक्त गरेका म्यानपार व्यवसायी हेमबहादुर गुरुङले वैदेशिक रोजगार बोर्डको सदस्य बन्न अस्वीकार गरेका हुन् ।
मन्त्री यादवले गुरुङसहित मेडिकल व्यवसायी कैलाश खड्कालाई सदस्य मनोनित गरेका थिए । नियुक्तीको समाचार सार्वजनिक हुनेवित्तिकै मन्त्री यादव र मनोनित व्यवसायीहरुको ब्यापक आलोचना भएको थियो ।
गुरुङले मंगलबार मन्त्रालयलाई एक पत्र लेख्दै बोर्डको सदस्यका रूपमा काम गर्न असमर्थ रहेको जानकारी दिएका छन् । उनले कोभिड-१९का कारण सिर्जित परिस्थिति र यसका कारण वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको जटिलता र आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै सदस्यका रूपमा काम गर्न असमर्थ रहेको जानकारी गराएका हुन् ।
गुरुङ सञ्चालक रहेको एसओएस म्यानपावरबाट ठगिएका कामदारहरूको दर्जनौं उजुरी श्रम तथा रोजगार तथा प्रवद्र्धन विभागमा छन् जसमध्ये थुप्रै उजुरी फर्छ्यौट हुन अझ बाँकी छन् । गुरुङ र उनको म्यानपावरमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । उनले कतार भिसा सेन्टर पनि सञ्चालन गरिरहेका छन् ।

