नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा मंगलबार आमनिर्वाचन, मत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अगाडि

गणेश थापा, क्यालिफोर्निया अमेरिका । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार आमनिर्वाचन हुँदैछ । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेन बीच निकै कडा प्रतिस्पर्धा हुने ताजा मत सर्वेक्षणले देखाएको छ ।

नोवेल कोरोना भाइरसको महामारीकै बीच हुन लागेको यस राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र संघसंस्था तथा मिडिया हाउसहरूले आ आफ्नै तौरतरिका र पक्षबाट मत सर्वेक्षण सार्वजनिक गरिरहेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार राष्ट्रिय मत सर्वेक्षणमा दुवै उम्मेदवारबीच करीव ९ अंकसम्मको अन्तर देखाइएको छ । एबीसी न्यूज, वासिगंटन पोष्ट, न्युयोर्क टाइम्स, सिएनएन लगायतका ठूला मिडियाले केही राज्यमा बाहेक अधिकांशमा डेमोक्रेटिक उम्मेदवार बाइडेननै अग्रस्थानमा रहेको सार्वजनिक गरिरहेका छन् ।

यता राष्ट्रिय मत सर्वेक्षणको रिपोर्टबमोजिम बाइडेनको अवस्था ५२ प्रतिशत पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्प ४३ प्रतिशतमा सीमित छन् । ब्याटलग्राउण्डका रूपमा हेरिएको फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्प २ अंकले अगाडि देखिएका छन् भने पेन्सिलभेनियामा बाइडेनको अग्रता ट्रम्पको भन्दा झण्डै ७ अंकले बढी छ ।

यी दुई राज्यलाई राष्ट्रपति चुनावका लागि निर्णायकको रूपमा समेत लिइएको छ । रिपब्लिकनको पकट क्षेत्र मानिएको टेक्सस, जर्जिया, एरिजोना, नर्थक्यारोलिना लगायतका ट्रम्पका पकटक्षेत्रमा समेत बाइडेनको स्थिति राम्रो रहेको स्थानीय संचारमाध्यमहरूले उल्लेख गराका छन् । यद्यपि निर्वाचनको अन्तिम दिनपछि आउने नतिजाले मात्रै नया‘ राष्ट्रपतिको टुंगो लगाउने छ ।

दुई दलीय व्यवस्था रहेको अमेरिकाको संविधान अनुसार नागरिकलाई प्रत्यक्ष रूपमा राष्ट्रपति चुन्ने मताधिकार नभएको हुदा इलेक्टरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयाँ राष्ट्रपति निर्वाचित हुनेछन् । कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मत आवश्यक पर्छ । निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिङ) गरेअनुसार आजको दिनसम्ममा झण्डै १० करोड मानिसले मतदान गरिसकेका जनाइएको छ । अमेरिकामा १५ करोड हाराहारीमा मतदाता रहेका बताइएको छ । यसपालिको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गर्ने अनुमान गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको भोलिको दिन अर्थात् २०२० को नोभेम्वर ३ ले आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइटहाउस प्रवेशको अनुमति कसलाई प्रदान गर्ने हो भन्ने अड्कलबाजीलाई पूर्णविराम लगाउने छ । त्यसका लागि अबको केही घण्टा प्रतिक्षा गर्नुपर्ने छ ।

७४ वर्षीय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहोर्याएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दाउमा छन् भने आफ्ना प्रतिद्वन्द्वीभन्दा झण्डै ३ वर्ष पाका उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करीव ४० वसन्तपछि राष्ट्रको सर्वोच्च कार्यकारी पदको ४६औं नम्बरमा आफ्नो नाम दर्ता गरेर जीवनको उत्तराद्र्धलाई बिसाउने प्रयासमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *