काठमाडौँ । नेपालका सर्वाच्च हिमाली धर्मगुरु लामा झोपा रिम्पोछेको काठमाडौँमा निधन भएको छ । साेलुखुम्बुकाे थाङ्गमेमा शेर्पा परिवारमा जन्मिएका झोपा रिम्पोछेको ७६ वर्षको उमेरमा काठमाडौँको कपनस्थित उनकै गुम्बामा बिहीबार निधन भएको भोट विज्ञ तथा तिब्बती भाषाका अनुवादक पुण्यप्रसाद पराजुलीले जानकारी दिए ।
काठमाडौँको कपनमा विश्वकै पहिलो ध्यान केन्द्र सञ्चालन गर्ने झोपा रिम्पाेछेले ३७ देशमा १ सय ६० बढी धर्मकेन्द्र सञ्चालनमा ल्याएका छन् ।
उनीले चीनको तिब्बत, भूटान र भारतमा गएर बौद्धधर्मको अध्ययन गरेका थिए । औपचारिक अध्ययन पूरा गर्नेबित्तिकै स्वदेश फर्किएर उनले कपनमा गुम्बा बनाएका थिए ।
‘विश्वभरि करोडौँ भक्तजन रहेका धर्मगुरु झोपा रिम्पोछे हिमाली क्षेत्रको बुद्धिजममा सबैभन्दा उच्चतहका नेपाली धर्मगुरु हुनुहुन्थ्यो,’ पराजुलीले नेपाल समाजसँग भने, ‘उहाँको निधनले नेपालको बुद्धिजम्, पर्यटन अर्थतन्त्र र शिक्षाका क्षेमा अपुरणीय क्षति भएको छ ।’
चुम उपत्यकाकाे धार्मिक यात्रामा रहेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई काठमाडाैँ ल्याइएकाे थियाे । काठमाडाैँमा उनलाई मृत घाेषणा गरिएकाे थियाे ।
झोपा रिम्पोछेको जीवनीबारे लोचवा पराजुलीसँग गरिएको अन्तरवार्ता नेपाल समाजको युट्युबमा हेर्न सकिने छ ।