कोरोना परीक्षण निःशुल्क, उपचारमा १० हजार सहयोग गर्ने पालिकाको निर्णय

दोलखा । दोलखाका स्थानीय तहले आफ्ना नागरिकको कोरोना संक्रमण (कोभिड १९) को परीक्षण निशुल्क गरिदिने भएको छ । त्यसैगरी जिल्लामा हुने उपचार निशुल्क गर्ने र जिल्ला बाहिर उपचारको लागि पठाउन पर्ने भए सम्बन्धित पालिकाले १० हजार नगद सहयोग गर्ने निर्णय गरेको छ ।
आईतवार जिल्लाको दुई नगरपालिका र सात गाँउपालिकाको प्रमुख सहितको उपस्थितिमा भएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको शङ्कासपद विरामी, कन्ट्रायाक ट्रेसिङमा परेको व्यक्ति र कोरोना पोजेटिभ देखिएका विरामीको दोस्रो परीक्षण सम्बन्धित पालिकाले निःशुल्क रुपमा गरिदिने निर्णय भएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताए ।
त्यसरी कोरोना परीक्षणको लागि हरेक हप्ताको सोमवार, बुधवार र शनिवार धुलिखेल अस्पतालको दोलखा र किर्नेटारमा विहान ६ बजे देखि ९ बजेसम्म स्वाव दिन सकिने समन्वय प्रमुख पाण्डेले बताउनु भयो ।
त्यसैगरी कोरोना पोजेटिभ देखिएका विरामीको जिल्ला भित्र हुने उपचारको सम्पूर्ण खर्च सम्बन्धित पालिकाले दिने र जिल्ला बाहिर काठमाडौँ तथा धुलिखेल लानु पर्ने भए सम्बन्धित पालिकाले नगद १० हजार सहयोग गर्ने निर्णय भएको जनाईएको छ ।
प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीको अध्यक्षतामा सम्पन्न बैठकले कोरोना संक्रमण परीक्षणको लागि स्वाव परीक्षणको लागि दिएका र परीक्षणमा कोरोना पोजेटिभ देखिएका विरामीलाई अनिर्वाय रुपमा आईसोलेशनमा बस्न अनुरोध गरेको छ ।
आईसोलेशनमा नबसी बाहिर हिडेको देखिएमा कानुन अनुसार कारवाही गर्ने निर्णय भएको जनाईएको छ । त्यसैगरी बैठकले दोलखा उद्योग बाणिज्य संघ र चेम्वर अफ कर्मसको सहयोगमा पालिकाहरुले चेतना मुलक अभियान सञ्चालन गर्ने, सामाजिक दुरी र मास्कको प्रयोग अनिर्वाय गर्ने र त्यसको पालना नभए कानुन अनुसार कार्वाहि गर्ने निर्णय भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *