नारायण गाउँले ।
स्वर्णिम वाग्लेजी कांग्रेसमा हुनुहुन्थ्यो । गगन–विश्वप्रकाश लगायतको पुस्ताले उहाँलाई उम्मेदवार बनाउन खुलेर कोसिस गरेको देखिन्थ्यो । गगनहरूकै पुस्ता र मिडियाले इन्डोर्स गरेकाले उहाँको योग्यता र क्षमताबारे हामी धेरैलाई थाहा भएको हो । नत्र देशभित्र कामै गरेर देखाउने पर्याप्त अवसर उहाँले पाउनुभएको छैन ।
ठूला पार्टीमा गुटबन्दी चल्छ । यो सबैलाई थाहा छ । देउवा गुट त्यसैमा पनि आरजूको जोड़बलमा उहाँले टिकट पाउनुभएन । त्यसमा पनि कांग्रेसकै युवापुस्ताले आक्रोश र क्षोभ व्यक्त गरेपछि यो राष्ट्रिय शीर्षक बन्न सफल भयो । देउवालाई च्यालेन्ज गरेर काँग्रेसमा र ओलीलाई च्यालेन्ज गरेर एमालेमा अघि बढ्न कति अप्ठेरो छ भन्ने दुनियाँलाई थाहा छ । अरूको के कुरा, नयाँ र लोकतान्त्रिक भनिने राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत रवि लामिछानेलाई च्यालेन्ज गरेर अघि बढ्न समेत सजिलो छैन । हरेक भाषणमा ती शीर्ष नेतालाई एकपल्ट विश्वको कुनै अग्लो व्यक्तित्वसँग तुलना गरेर प्रसंशा गर्न छुटाइयो भने च्यालेन्ज नगरेरै पनि टिक्न असजिलो छ ।
रोचक के छ भने कांग्रेसभित्र रहुन्जेल उहाँले देउवाप्रवृत्ति विरुद्ध बोल्नुभएन । आफूले टिकट नपाए पनि उहाँले देशभर कांग्रेसका लागि भोट माग्नुभयो, दौडि़नुभयो । उहाँलाई टिकट नदिइनुमा अरू सबैले आरजूलाई गाली गर्दा उहाँ मौन बस्नुभयो । उहाँ जत्तिको दक्ष र केही डेलिभर गर्न चाहने तर कार्यकर्ता बेस बन्न नसकेको व्यक्तिले निरङ्कुश नेतृत्वसँग लडेर सिद्धिनुभन्दा मौन बसेर अवसर पर्खिनु उपयुक्त हुन्छ भन्ने लागेर उहाँको मौनतामाथि प्रश्न नउठेको हो ।
तर, निर्णायक बन्न नसके पनि गगन र विश्वप्रकाशहरूले अधिवेशनदेखि पार्टीका अन्य मञ्चसम्म नेतृत्वप्रति खुला चुनौती प्रकट गरेको सत्य हो । तिनले हासिल गरेको लोकप्रियता त्यसकै देन होला तर महत्त्वपूर्ण निर्वाचित पदमा भएर पनि पार्टीभित्र निर्णायक भूमिकामा देखिन नसक्नुको कारण त्यही नेतृत्वप्रतिको चुनौती हो । यो चुनौती व्यक्तिगत रूपमा कम महत्त्वको होला तर त्यसले अन्य पार्टीमा समेत युवा पुस्तालाई हस्तक्षेपकारी भूमिकामा आउन बल र प्रेरणा दिएको हुनुपर्छ । स्मरण रहोस्, शीर्ष नेताहरूले रवि लामिछानेको राजनीति प्रवेशलाई हियाउँदै गर्दा, ओलीले टीभीमा बोल्ने एउटा केटो भनेर हेप्दै गर्दा र एउटा सीट पनि नजित्ने ठोकुवा गर्दै गर्दा गगन थापाले आमजनताबीच पार्टीप्रति रोष बढ्दै गएकाले तत्काल नसुध्रिए ठूलो क्षति हुनसक्ने भनेर लिखित सुझाब नै पेश गरेका थिए । वैकल्पिक राजनीतिप्रति उनको नरम भाषण र उनी विरुद्ध रास्वपाले उम्मेदवारी नदिनु आदि कारणले रास्वपालाई गगनले नै बजाएको घण्टी भनेर माओवादी लगायतका पार्टीले आरोप लगाई रहे ।
गगनहरूले कांग्रेस सुधार गर्न नसकेको कतैबाट लुकेको छैन । तर उनीहरू नहुने र त्यत्ति कोसिस नगर्ने हो भने कांग्रेस अझ बढ़ी खराब पार्टी बन्थ्यो भन्ने भनिरहनु नपर्ला । एउटा राष्ट्रिय दल खराब बन्नु भनेको हामी सदस्य भए पनि नभए पनि त्यसको प्रभाव देश र हामीमाथि पर्छ नै । गगनले संसदीय दलको नेतामा देउवाविरुद्ध उम्मेद्वारी नै दिएका थिए । एउटा व्यक्तिका रूपमा उनले गर्न सक्ने प्रयास त्यस्तै हो । रास्वपा जस्तो उदाउँदो दलमा स्वर्णिम वाग्ले जस्ता व्यक्ति थपिनुले उक्त पार्टीमात्रै होइन, हामी सबैलाई अप्रत्यक्ष फाइदै हुन्छ । वाग्ले एउटा थपिएर या घटेर कुनै दललाई फाइदा बेफाइदा हुने भन्दा पनि यो एउटा प्रतिनिधि घटना बनेर सयौं वाग्लेहरू राजनीतिमा आए भने अपेक्षित सुधार हुने हो ।
चुनाव हो । दलबाट उम्मेद्वारी दिएपछि दलकै महिमामण्डन गर्नु स्वाभाविक हो । किनकि एउटा व्यक्तिभन्दा संसदमा दल नै निर्णायक हुने हो । चुनावमा निकट प्रतिद्वन्द्वीहरू बीच सामान्य छेड़खाड़ र आत्मप्रसंशा पनि असामान्य नहोला । तर हिजो भर्खर देउवा नेतृत्वको कांग्रेसका लागि भोट माग्दै हिँडेका स्वर्णिमले आज कांग्रेसको चर्को विरोध गर्नु र हिजो दक्ष र योग्य देखेर स्वर्णिमलाई टिकट दिलाउन सक्दो पहल गरेका गगनहरूले स्वर्णिमबारे बहकिएर बोल्नु जरूरी छैन । अहिलेको युवापुस्तालाई पुरानै नेताहरू झैँ तल्लो स्तरको वाक्युद्धमा लड़ाएर र तिनलाई एकापसमा जुधाई भुत्ते बनाएर बुढो पुस्ताले लाभ लिइरहने अवस्था नआए हुन्थ्यो ।
