एजेन्सी । इन्डियन प्रिमियार लिगमा साविक विजेता गुजरात टाइटान्सले लगातार दोस्रो जीत निकालेको छ । मंगलबार राति भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजीत गरेको हो ।
जीतको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ४ विकेटको क्षतिमा १ सय ६३ रन बनाउँदै लक्ष्य भेट्टायो । गुजरातको लागि साइ सुधर्सनले अर्धसतक पूरा गरे । उनले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ६२ रन बनाए । यस्तै डेभिड मिल्लरले ३१, विजय शंखरले २९ तथा ऋद्दिमान शाह र शुभमन गिलले समान १४-१४ रन बनाए ।
दिल्लीको लागि अन्रिच नोर्त्जेले दुई विकेट लिँदा खलिल अहमेद र मिट्चल मार्सले समान एक-एक विकेट लिए ।
यसअघि अरुण जाइतले स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । दिल्लीको लागि कप्तान डेभिड वार्नरले ३७, अक्सर पटेलले ३६, सरफराज खानले ३० र अभिषेक पोरेलले २० रनको योगदान गरे ।
गुजरातको लागि मोहम्मद शामी र रसिद खानले ३-३ विकेट लिँदा अल्जारी जोसेफले दुई विकेट लिए ।
जीतसँगै गुजरात दुई खेलबाट ४ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन दिल्ली आठौँ स्थानमा रहेको छ ।