शिक्षा क्षेत्र सुधार गर्न गम्भीर बनौं

डा. खिमलाल देवकोटा ।
नेपालको शिक्षाको अवस्था नाजुक छ । विद्यालय शिक्षामा बोर्डिङ स्कूलको प्रवेशले कैयौ सरकारी विद्यालयहरु ध्वस्त भए । हुँदैछन् । यसैगरी उच्च शिक्षामा निजी कलेजको प्रवेशले सरकारी कलेजहरु सुनसान छन् । निजी स्कूल/कलेजले आफूखुसी शूल्क बढाउँछन् । तर सरकारी संयन्त्र उदासिन भन्ने समाचार सधै सुनिन्छ/पढिन्छ । शासन व्यवस्थामा बसेकाहरु, शिक्षा लगायतका मन्त्रालयका मन्त्री भएकाहरु सरकारी स्कूल, सरकारी कलेज त सुध्रिदैनन् । त्रिभुवन विश्वविद्यालयलाई सुधार्न त झनै गाह्रो छ भन्दैछन् । समाजवादको चर्को वकालत गर्नेहरुले नै शिक्षामा निजीकरणको पृष्ठपोषण गर्दैछन् । र यसमा आफनो लगानी बढाउँदैछन् ।

सरकारी स्कूल÷कलेज, सरकारी विश्वविद्यालय, धराशायी बनाउन सहयोग गर्दैछन् । शिक्षामा यो समस्या टड्कारो रुपमा त छँदैछ । तर अहिले यो भन्दा पनि ठूलो समस्याका रुपमा नेपालमा विद्यार्थीहरु बस्नै छाडे । पढनै छाडे । स्नातक र मास्टर डिग्री गरेका विद्यार्थीहरुको त कुरै छाडौं प्लस टु गर्ने बितिक्कै विद्यार्थीहरु बाहिरन थाले । गाउँघरका स्कूल कलेजहरु त सुनसान छँदैछन् । तर अहिले त शहर बजारका नाम चलेका निजी कलेजमा पनि विद्यार्थीहरुको संख्या अस्वभाविक किसिमले घटिरहेको छ ।

विद्यालयपछिको बिदाई कार्यक्रममा नै विद्यार्थीहरुले वैदेशिक यात्रा । वैदेशिक शिक्षा सफल होस् भनेर लेख्न थाले/बोल्न थाले । नेपालमा नै बसेर राम्रो गर्ने विद्यार्थीहरु र स्कूल कलेजमा राम्रो पढाउने शिक्षक/प्राध्यापकहरु पनि विदेशतिरै जान थाले । विदेश अध्ययनमा ७ महिनामा नै वाहिरियो ४४ अर्ब र ७२ हजार विद्यार्थीले विदेश जान नो अब्जेक्सन लेटर लिए भन्ने समचार आएका छन् । हामीले शिक्षालाई रोजगारी र आयसंग जोडन सकेनौं । विद्यार्थीलाई ज्ञान र सिपसहितको क्षमतावान बनाउन सकेनौं । नेपालमा एमए/पिएचडी गरेर पनि रोजगारी पाइँदैन । बरु जति भौतारिएपनि विदेशमा रोजेको/खोजेको शिक्षा पाइन्छ । रोजगारी पाइन्छ भन्ने भावना विद्यार्थी र अभिभावक दुवैमा छ । नेपालको शिक्षाप्रति विद्यार्थीमा विश्वास र भरोसा नै छैन ।

सरकार पनि उदासिन छ । कुनै मतलव छैन । शिक्षा क्षेत्र राजनीतिका कारणले धेरै गिजोलियो । दल विशेषमा भागवण्डा लगायतको संस्कृतिले पनि तहसनहस भयो । शिक्षामा अर्को समस्याका रुपमा, स्कूल÷कलेजमा योग्य शिक्षक/प्राध्यापक पनि पाउन नै मुस्किल छ । शिक्षा मात्र हैन । वास्तवमा, कुनै पनि क्षेत्रमा राम्रो जनशक्ति नै नपाउने स्थिति समेत छ । शिक्षा क्षेत्र सुधार गर्नमा हामी गम्भीर बनौं । आगामी एक दशक ०७० देखि ०८० सम्म शिक्षा दशकका रुपमा अभियान चलाऔं । विद्यार्थीले रोजेको र खोजेका शिक्षा दिऔं । शिक्षालाई रोजगारी र उत्पादनसँग जोडौं । उद्योग कलकारखानाहरुमा लगानी गर्ने वातावरण निर्माण गरौं । बन्द भएका उद्योगहरु संचालन गरौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *