एजेन्सी । फरवार्ड इर्लिंङ ब्राउट हालान्डले पाँच गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगमा फराकिलो जीत निकालेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो खेलमा जर्मन क्लब आरबी लेइपजिगलाई ७-० तथा समाग्रमा ८-१ गोलले हराउँदै सिटी क्वाटरफाइनलमा पुगेको हो ।
घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीलाई जीत दिलाउन हालान्डले पाँच गोल गर्दा इल्काइ गुन्डोगान र केभिन डी ब्रुयनले समान एक-एक गोल गरे । सिटीले पहिलो हाफमा तीन र दोस्रो हाफमा चार गोल गरेको हो । हालान्डले २२ औं, २४ औं, ४५+२ औं, ५३ औं र ५७ औं मिनेटमा गोल गरेका हुन् ।
यस्तै गुन्डोगानले ४९ औं र डी ब्रुयनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् । दुई टोलीबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । जीतसँगै सिटी क्वाटरफाइनलमा प्रवेश गर्दा आरबी लेइपजिग प्रतियोगिताबाट बाहिरिएको छ ।