काठमाडौँ, नेपाल–चीन व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ ।
कोरोना भाइरस ९कोभिड–१९०का कारण भएको बन्दाबन्दीका कारण बन्द रहेको रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताएका छन ।
सोमबार बिहानैदेखि मितेरी पुल खुल्खा चीनबाट सामान आयात भएको खड्काले बताए । दुई देशबीचको सीमा सुरक्षा बैठकले केही सर्त राखेर नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।
रसुवागढी नाका सञ्चालनमा आएपछि मितेरी पुलसम्म चिनियाँ पक्षले नै सामग्री ल्याइदिने छन् । मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण गरिनेछ । मितेरी पुलबाट चीनतर्फ भने जान पाइने छैन ।
कोरोना भाइरस सङ्क्रमण हुनसक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । सुरुमा स्थानीयले कोरोना भाइरस भित्रनसक्ने त्रासमा नाका नखोल्ने अडान लिएका कारण नाका सञ्चालनमा आउन सकेको थिएन ।
चीनबाट नेपालतर्फ तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका थिए ।
नेपालबाट चीनतर्फ धातुका मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुढा, मेहन्दी, दन्तमञ्जन, शृङ्गारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, ऊनी गलैँचा कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायतका मुख्य वस्तु निकासी हुने गरेको छ ।
यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
