डा. युवराज संग्रौला ।
शिक्षाले समाज परिवर्तन गर्छ, मन्त्र पढेर वा जादु गरेर होइन । शिक्षाले मानिसमा चेतना सिर्जना गर्छ । मनिसलाई मानवीय मूल्य र मान्यताप्रति जागृत गर्छ । अन्धविश्वासलाई पखाल्छ। तर किन नेपालमा शिक्षाले यी लक्ष्य प्राप्त गर्न सकेन र आज ‘एउटा अराजक संस्कृति, देशका विरुद्ध सत्ता र पैसाका लागि देशको अस्मिता नै लुट्ने जमातमा नागरिक तयार पार्यो?’
१. नेपाली युवा देशमा बस्दैन । यो देशमा के छ, यसले के दिन्छ ? यहाँ के अवसर छ ? उसले गर्ने प्रश्न यिनै हुन् ? के जवाफ दिनु यी प्रश्नको ! कोही मरेछ भने किन मरेछ भन्ने कारण खोज्न सकिन्छ । तर कोही किन जिउँदो छ भने कारण कसरी खोज्नु ? के देश भनेको गोठ मात्र हो ? के देश भनेको माटो मात्र हो ? कसरी बनांयौं हामीले ‘आज यो सोच राख्ने युवा ?’
२. नेपाली युवा किन संसारकै कमजोर ‘आइ क्यू’ भएको जमात बन्यो ? अघिल्लो पुस्ताले त गतिलो शिक्षा पाएन, अहिलेको पुस्ता त पूँजीवादले ल्याएको निजीकृत विद्यालयमा पढेको होइन र ? अनि कसरी बन्यो त मोबाइल दुकानमा पसेर लुट्ने युवा ? के यो व्यक्तिको दोष हो ?
३. राज्यले कहाँ गर्यो शिक्षामा लगानी ? मानिससँग डिग्रीका मुठा छन्, तर श्रम प्रति सम्मान छ ? छैन । देशप्रति माया छ ? छैन ? संस्कृतिप्रति माया छ ? छैन । मानिसमाथि भएका भेदभावप्रति सरोकार छ ? छैन ।
४. हाम्रो शिक्षाले हाम्रो देश र समाजको इतिहासको चित्र युवाको दिमागमा राख्नु पर्ने थियो होला, तर पृथ्वीनारायण, भक्ति थापा, भिमसेन थापा, महेन्द्र, विश्वेश्वर, पुष्पलाल, भीमदत्त पन्त, द्वारीकादेवी, योगमाया, विसे नगर्चीको इतिहास पढाएन । अमेरिकी आदिवासी लुट्ने ढोला खोल्ने कोलम्बसको इतिहास पढायो । कृषि सिकाएन, चुँदाराले बनाउने ठेकीलाई परिस्कृत गर्ने प्रविधि सिकाएन, गहना बनाउने शिल्पीहरुको सम्मान गर्ने संस्कार सिकाएन, गीत गाउँदै लोक संस्कृतिको जगेर्ना गर्ने गन्धर्वहरुलाई सम्मान दिएन । अर्थात् समग्रमा आधुनिक सामन्त, पुरेत र धामी, र मुन्सी बनाउने काम शिक्षाले गर्यो । अन्ध र अल्प ज्ञानको खेती गर्यो । तर्क होइन गाली गर्ने जमात निर्माण गर्यो । राजनीति भनेको कलेजमा गुन्डागर्दी गर्नु, चन्दा उठाएर रक्सी खानु, जमातको ताकत देखाएर गाली गर्नु हो भन्ने सिकायो र राजनीति भनेको प्रतिक्रियात्मक आक्रमण हो भन्ने सिकायो ।
५. आज एउटा वकिल लुटेराको नाम बोकेर, एउटा डाक्टर लुटेराको नाम बोकेर, एउटा पत्रकार लुटेरा र विदेशीको खानाखाने मान्छेका नाममा उभिएको छ ।
६. हामीले कति डाक्टर चाहिने हो देशलाई किन नसोचेको होला । कति वकिल, कति पत्रकार चाहिन्छन् भनेर किन नसोचेको होला ? जापान र चीनमा एक तिहाइ विद्यार्थीमात्र उच्च शिक्षामा जान्छन्, अरु त कमाउन थाल्छन् । तर हाम्रो देशमा त कृषि गरीबले गर्ने पेसा हो भन्ने पढाइयो । पढाइ त विदेशीका किताब पढेर जागिर खाने थलो बनाइयो ।
७. अमेरिका र पश्चिमलाई आदर्श मान्ने, पूँजीवाद नवउदारवादले देशलाई जापान बनाउँछ भन्ने पुरेतज्यूहरु आज किन तपाईंको शिक्षाले नागरिकलाई देशमा नबस्ने, अर्कालाई गाली गर्ने, सोच्ने धिक्कार्ने, सडकमा मदारी गर्नेलाई हिरो बनाउने र ठग्नेलाई वकिल, डाक्टर बनायो ?
८. किनकी पूँजीवादले मानिसलाई एउटाले अर्कोको पैसा लुटेर धन कमाउन सिकाउँछ । यसले संस्कृति, धर्म, अनुहार, नाता, इतिहास सबैथोकलाई धनको माध्यम बनाउँछ ।
शिक्षाको पहिलो काम मानिसलाई सभ्य, उन्नत, शिल्पी र विज्ञ बनाउने हो । शिक्षाको लक्ष्य मानिसको उत्पादकत्व र सिर्जनात्मकता उन्नत गर्नु हो । समाजलाई बदल्ने चेत निर्माण गर्नु हो । त्यसकालागी देशभक्ति चाहिन्छ । मानवीयता चाहिन्छ । मानवीयता विनाको विज्ञानले हामीलाइ रोबोर्ट बनाउँछ मानिस होइन । चिनियाँ उदाहरणले अल्पज्ञानीलाई रिस उठ्छ । उसका दिमाग सेतो राम्रो जर्ज र विलियम मालिक हामी दास भन्ने उपनिवेशि भ्रमबाट ग्रस्त छ। अब हामीले देश बनाउने खाका निर्माण गर्नु र जनतालाई जागृत गर्नु र अहिलेको ठालुतन्त्रलाई धिक्कार्नुको विकल्प छैन ।
