एमसीसीकाे बारेमा निर्णय गर्न बोलाइएको नेकपा सचिवालय बैठक दोस्रो पटक स्थगित

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारेमा निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवालय समितिको बैठक अन्तिम समयमा स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि डाकिएको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि स्थगित गरिएको हो । अन्तिम समययमा बैठक स्थागित भएको यो दोस्रो पटक हो ।

नेकपाका महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित भएको बताएका छन् । आइतबार अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव पौडेलबीचको परामर्शबाट बैठक स्थगित भएको छ ।

दुवै अध्यक्ष र महासचिवको परामर्शमा बोलाइएको बैठक आकस्मिक काम परेकाले परामर्शबाटै स्थगित भएको पौडेलले बताए । आजको बैठकमा एमसीसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रण गरिएको थियो ।

नेकपाभित्रको संकटकै कारण संसदबाट एमसीसी पारित हुने कि नहुने भन्ने अन्यौल बढिरहेको छ । बजेट पारित भइसकेपछि संसद अधिवेशन अन्त गर्ने तयारी भइरहेका बेला पनि नेकपाले भने निर्णय गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *