काठमाडौं । आगामी फागुनबाट शुरु हुने सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको हो ।
यस्तै उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । यस्तै एक क्लबले फेयर प्ले अवार्ड अवरूप तीन लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले तीन लाख रुपैयाँ पाउनेछ भने उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान दुई-दुई लाख रुपैयाँ पाउनेछन् । एक उदयमान खेलाडीलाई एक लाख रुपैयाँ दिइनेछ ।
यस्तै हरेक खेलको विजेतालाई नगद ५० हजार रुपैयाँ दिइनेछ । खेल बराबरीमा सकिएको खण्डमा दुवै टोलीलाई समान २५-२५ हजार रुपैयाँ प्रदान गरिनेछ । हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछ । लिगको अनुमानित खर्च १२ करोड रुपैयाँ रहेको छ ।
डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा १ सय ८२ खेल हुनेछन् । लिगका खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा सहभागि हुने १४ क्लबले जलब दर्ता गरिसकेका छन् भने एन्फाले लिगको तयारीको रुपमा हरेक क्लबलाई पहिलो किस्ताको रुपमा दिइने १५ लाख रुपैयाँ दिइसकेको जनाएको छ ।