निजीकरणपछि हवाइ दुर्घटना सात गुणाले बढेकाे विज्ञकाे भनाइ

काठमाडाैँ । नेपालमा हवाई दुर्घटना बढ्नुको मुख्य कारण हवाइ उड्ययन क्षेत्रको निजीकरण भएको एक पाइलटले बताएका छन् । नेपाल एअरलाइन्सका एक पाइलटले २०४७ मा हवाई उड्ययनमा निजी क्षेत्रको प्रवेशपछि सात गुणाले दुर्घटना बढेको उल्लेख गरेका हुन् ।

निजी वायुसेवाले अत्यधिक मुनाफालाई केन्द्रमा राख्दै अत्यधिक पुराना जहाज खरिद गर्ने र मर्मत सम्भारतर्फ नजर अन्दाज गरेका कारण दुर्घटना बढेको उनको ठम्याइ छ । हवाई सेवा कम्पनीहरुले लान्छनाबाट बच्न जहाज कहिल्यै पुरानो नहुने भाष्य बजारमा सम्प्रेषण गर्नुका साथै दुर्घटनापछि कम्पनीले आकर्षक क्षतिपूर्ति पाउने भएकोले न्यूनिकरणतर्फ खासै ध्यान नदिएको उनको तर्क छ । पुराना जहाजको इन्सुरेन्स प्रिमियम उच्च भएकै कारण यात्रुहरुले हवाइ भाडामा चर्काे मुल्य तिर्न बाध्य भएको पनि उनको तर्क छ ।

२०४७ देखि हिजो आइतबारसम्म करिब ३२ वर्षका अवधिमा कुल ८९ वटा दुर्घटना भएका र तीमध्ये नेपाल वायुसेवा निगमको ९ वटा , निजी वायुसेवाको आन्तरिकतर्फ ७४ वटा, अन्तर्राष्ट्रिय उडानतर्फ ६ वटा रहेका छन् ।

हवाई क्षेत्रलाई सुरक्षित राख्न निजी वायुसेवा बन्द गरेर नेपाल वायुसेवा निगमलाई प्रवर्द्धन गर्न उनको सुझाव छ । प्रतिस्पर्धात्मक खुल्ला बजार अर्थतन्त्रलाई बढावा दिनुपर्ने भए एउटा सरकारी र बढीमा दुई वटा निजी बायुसेवा कम्पनी सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

‘ती दुईवटा वायुसेवा कम्पनीलाई नयाँ जहाज किन्नैपर्ने बाध्याकारी नियम बनाउन लगाऔ’, उनले नेपाल समाजसँगकाे कुराकानी भने, ‘सबै कर्मचारीहरुलाई नेपालकै विश्वविद्यालयबाट हवाइ उड्ड्यनका विविधि कोर्षहरु अध्ययन गर्न पाउने व्यवस्था गराऔँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *