धनगढी । प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै वेपत्ता भएका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव फेला परेको छ ।
शनिबार राति तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेपनि जवान साउद भने वेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेकाको प्रारम्भिक बयानका आधारमा जवान साउदको शव फेला परेको जनाएको छ ।
उनको शव प्रहरी सहायक निरीक्षक विकको शव पाएको भन्दा उत्तरतिर मोहना नदीकै बीचमा बालुवामुनि पुरिएको अवस्थामा फेला परेको हो । असई विक र जवान साउदले तस्करीको सामान पक्राउ गर्न खोज्दा तस्करसँग मुठभेड भएको प्रहरीको अनुमान छ ।
असई विकको शव मोहना नदीमा आइतबार बिहान फेला परेको थियो । उनको सोमबार कञ्चनपुरको दोदा नदीमा दाहसंस्कार गरिएको छ । प्रहरीले तस्करीमा संलग्न र हत्यामा संलग्नको पहिचान गरिसकेको छ । ती मध्ये केही पक्राउ परेका छन् ।
तीन महिनाअघि मात्रै अस्थायी प्रहरी चौकीमा खटाइएका असई विक तस्करका लागि कडा रुपमा प्रस्तुत भएका थिए । उनले तीन महिनामा चार पटक तस्करीको सामान बरामद गरेका थिए । जुगेडा क्षेत्र प्रदेशको सदरमुकाम धनगढी भएर सुदूरपश्चिमका ९ वटै जिल्लाका लागि सामान तस्करी हुने स्थान मानिन्छ ।
