काठमाडौं । सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउँदै आएको नेपाली कांग्रेसले एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि अरुले त आश्चर्य मान्नु स्वाभाविकै हो । तर कांग्रेसकै नेताहरुलेसमेत आश्चर्य मानेका छन् । पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले सामाजिक संजालमा लेखे, ‘आज प्रचण्ड नेतृत्वको गैर–कांग्रेस गठबन्धन सरकारलाई नाकमा नत्थी लगाए जस्तो गरी समर्थन गर्नु नै थियो भने निर्वाचनपछि दुई वर्षको लागि उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नेतृत्वले टाङ् अडाउनुपर्ने के बाध्यता थियो ? आज प्रचण्डलाई विश्वासको मत दिनुलाई बुद्धिमत्ता मान्ने हो भने हिजो त्यो ‘बुद्धि’ कता हराएको थियो ? गठबन्धनका उम्मेदवारलाई मत नदिने कांग्रेस नेता तथा कार्यकर्तालाई कारवाहीको डण्डा चलाउने नेतृत्वको खेलवाडले निष्ठाको जनमुखी–राजनीति गरिरहेका कार्यकर्ताको प्रतिष्ठा र हुर्मत हरेर कारवाही चलाउने हर्कतको क्षतिपूर्ति कसरी हुन्छ ? ईतिहास लेख्ने हातलाई कसैले रोक्न सक्दैन । वर्तमान र भावी पुस्तामाथि कुठाराघात गर्ने यस्ता कांग्रेसघाती खेललाई इतिहासले कदापि सम्मानजनक अध्याय दिने छैन । कांग्रेस नेतृत्वलाई सद्बुद्धि पलाओस् ।’
कांग्रेसका अर्का नेता एवं केन्द्रीय सदस्य गुरुराज घिमिरेले यस्तो लोकतन्त्रका लागि आफूहरु नलडेको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनले भने, प्रजातन्त्र अर्थात् लोकतन्त्रको गम्भीर उपहास ! गठबन्धन बनाउने,तर जोगाउन नसक्ने, प्रमुख विपक्षमा रहन खोज्ने, तर लक्षण नदेखाउने ! मतलव सत्ता गठबन्धनलाई सघाउने ! यस्तो लोकतन्त्रका लागि हामी लडेका थिएनौं ।’
कतिपयले त कांग्रेसको कदमलाई निर्दलीय व्यवस्थाको अभ्यासको रुपमा तुलना गरेका छन् । संविधानविद डा. चन्द्रकान्त ज्ञवालीले यसलाई निर्दलीय व्यवस्थाको अभ्यासको रुपमा टिप्पणी गरेका छन् । उनी भन्छन्,‘संसदीय शासन व्यवस्थामा बलियो प्रतिपक्षको भूमिका अपरिहार्य ठानिन्छ तर नेपालमा बलियो प्रतिपक्ष त कुरै छाडौं सरकार गठनमा सहभागी नभएको प्रतिपक्ष लुरूलुरू पुच्छर हल्लाउदै प्रतिपक्ष विहीन बनाउदै सरकारलाई समर्थन गर्दछ भने संसदमा निर्दलीय व्यवस्थाको अभ्यास हुने भयो । भोलि नीति तथा कार्यक्रमलाई आफ्नो स्वामित्व ग्रहण नगरी समर्थन गरे पनि हुने भयो ।’
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कांग्रेसको निर्णय अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् । उनले भने, ‘नेपालको संवैधानिक र संसदीय इतिहासमै काङ्ग्रेसले आज गरेको निर्णय आलोच्य र अलोकतान्त्रिक हो ।’
पूर्वराजदूत निलाम्बर आचार्यले भनेका छन्, ‘एकपछि अर्का अपत्यारिला दृश्य मञ्चन भैरहेका छन् राजनीतिक रङ्गमञ्चमा।’
तर विश्वासको मत दिएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि कोर्ष करेक्सन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् । उनले भने,‘गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्सन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं । यसले देश जनताको भलो गर्छ ।’
एमालेसँग समीकरण बनाउनुअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूलाई प्रधानमन्त्री बनाउन अनुरोध गरेका थिए। त्यतिबेला देउवाले अस्वीकार गरेपछि प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य अघि बढाए। एमालेलगायत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि भने कांग्रेसले पनि प्रचण्डलाई समर्थन गरेको छ । प्रमुख प्रतिपक्षी दल नहुँदा सरकारको स्वेच्छाचारिताको संकट आउँछ । सरकारले आफू चाहेका बेलामा जस्तोसुकै कानुन बनाउन पनि अप्ठेरो पर्ने देखिन्न । किनभने सरकारलाई गलत बाटोमा हिँड्दा रोक्नका लागि प्रमुख प्रतिपक्षी दल नै प्रतिनिधिसभामा छैन । अर्कोतिर सबै दलले सरकारलाई समर्थन गरेपछि प्रचण्ड सरकारले सबै राजनीतिक दलको इन्ट्रेष्ट अनुसार चल्नुपर्ने छ ।
आफूलाई पुरानो प्रजातान्त्रिक बताउने कांग्रेसले सरकारलाई समर्थन पनि गर्ने अनि प्रतिपक्षीको भूमिका पनि निर्वाह भन्ने कुरा कति जायज हो त ? कतिपयले त कांग्रेसले अब राष्ट्रपति आफ्नो पक्षमा पार्न यो खेल खेलेको विश्लेषण गर्न थालेका छन् । भर्खर निर्वाचन भएर सरकारले पूर्णता नपाउँदै कांग्रेसले राजनीति अस्थिर बनाउने खेल सुरु गरेकै हो त ?
