काठमाडौं । लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी-२० लिगको फाइनलमा पुगेको छ । आइतबार दिउँसो भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले पराजीत गर्दै लुम्बिनीले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
जीतको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनाउन सक्यो । जनकपुरको लागि सामिउल्लाह शिन्वारीले सर्वाधिक ४५ रन बनाएपनि टोलीलाई जीत दिलाउन सकेनन् । उनले ३१ बलमा ३ छक्का र दुई चौका प्रहार गरे । यस्तै पवन सरार्फले १९ बलमा २ छक्का र २ चौकाको सहयोगमा ३० रन बनाउँदा शराफुदिन अशार्फले २४, राजेश पुलामीले १३ र त्रिभोन ग्रिफिथले १० रनको योगदान गरे ।
लुम्बिनीको लागि दीपेन्द्र सिंह एरी, विपुल शर्मा र सागर ढकालले समान दुई-दुई विकेट लिँदा शाद्ले भान स्चालाक्वेकले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो । खेलमा खराब शुरुवात गरेको लुम्बिनीले ७ रन जोड्दा दुई विकेट गुमाएको थियो । लुम्बिनीको लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । उनले ३९ बलमा ३ चौका र एक छक्का प्रहार गरे । यस्तै अनिल शाहले २४, विपुल शर्माले २०, शाद्ले भान स्चाल्क्वेकले १७, लाहिरु मिलन्थाले १६ र कप्तान दीपेन्द्र सिंह एरीले १० रन बनाए ।
जनकपुरको लागि अशान प्रियंजन, सोमपाल कामी र जितेन्द्र मुखियाले समान दुई-दुई विकेट लिँदा त्रिभोन ग्रिफिथ र पवन सरार्फले एक-एक विकेट लिए ।
जीतसँगै लुम्बिनी फाइनलमा पुग्दा जनकपुरले फाइनल प्रवेश गर्ने दोस्रो मौका पाउनेछ । अब जनकपुरले फाइनल प्रवेशको लागि विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच हुने इलिमिनेटरको विजेतासँग खेल्नेछ ।