काठमाडौं । काठमाडौं नाइट्स नेपाल टी-२० लिगको प्लेअफमा प्रवेश गरेको छ । शनिबार दिउँसो भएको लिगचरणको अन्तिम खेलमा फार वेस्टसँग ४१ रनले पराजीत हुँदै पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएसँगै काठमाडौं प्लेअफमा पुगेको हो ।
जीतको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा अलआउट हुँदै १ सय ४६ रनमा समेटियो । पोखराको लागि उपुल थारांगाले सर्वाधिक ३६ रन बनाए । उनले २३ बलमा ५ चौका र एक छक्का हिर्काए । प्रतिष जिसीले ११ बलमा ५ छक्काको सहयोगमा ३४ रन बनाए । यस्तै सिद्धान्त लोहनीले २८, सुमित महर्जनले १४ र विशाल विक्रम केसीले १३ रन बनाए ।
फार वेस्टको लागि दुर्गेश गुप्ताले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । यस्तै हाश्मातुल्लाह शाहिदी र प्रकाश जैशीले दुई-दुई विकेट लिँदा करण केसीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको फार वेस्टले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । फार वेस्टको लागि हाशमुतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धसतक पुरा गरे । शाहिदीले ५१ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । विनोद भण्डारीले ४७ बलमा ६ चौका र दुई छक्कासहित ५९ रन बनाए । यस्तै रसिद खानले १४, मिलिन्डा सिरिवार्डानाले १२ र करण केसीले ११ रन बनाए ।
पोखराको लागि अभिमन्यु मिथुनले दुई र प्रतिष जिसीले एक विकेट लिए । जीतसँगै फार वेस्ट १० खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा उक्लिदा पराजीत पोखरा ६ अंक जोड्दै लिगको पुछारमा रह्यो । काठमाडौं १० खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको हो ।