काठमाडौं । विराटनगर सुपर किंग्स नेपाल टी-२० लिगको प्लेअफमा पुगेको छ । शनिबार बिहान भएको खेलमा काठमाडौं नाइट्सलाई ७ विकेट पराजीत गर्दै विराटनगरले प्लेअफमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
जीतको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन बनाउँदै जीत निकालेको हो । विराटनगरको लागि रोहित पौडेल र गाउनान्शु शर्माले अर्धसतक पूरा गरे । कप्तान रोहितले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६६ रन बनाउँदा गाउरान्शुले ५१ रन बनाए । उनले ४९ बलमा ४ चौका हिर्काए । यस्तै हुसेन टालटले २१ रन तथा अर्जुन साउद र विवेक यादवले समान १०-१० रन बनाए ।
काठमाडौंको लागि अविनाश बोहोराले ३.४ ओभरमा ३५ रन दिएर २ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । काठमाडौंको लागि सन्तोष कार्की र एलेक्स ब्लाकेले समान ३४-३४ रन बनाए । यस्तै सन्दीप राजलीले ३०, ज्ञानेन्द्र मल्लले २२ र बासिर अहमेदले २२ रन बनाए ।
विराटनगरको लागि राज नाननले ४ ओभरमा एक मेडन राख्दै १३ रन दिएर ४ विकेट लिए । यस्तै नन्दन यादव र रोहित पौडेलले समान एक-एक विकेट लिए ।
जीतसँगै विराटनगर १० खेलबाट १० अंकको साथ अंकको तालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो । पराजीत काठमाडौं समान खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । प्लेअफमा पुग्न काठमाडौंले पोखरा र फार वेस्टबीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।