काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा छैटौं जीत निकालेको छ । आइतबार दिउँसो भएको खेलमा विराटनगर सुपर किंग्सलाई १२ रनले हराउँदै लुम्बिनीले लिगमा छैटौं जीत निकालेको हो ।
जीतको लागि १ सय २३ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ .३ ओभरमा अल आउट हुँदै १ सय १० रनमा समेटियो । विराटनगरको लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । उनले ४५ बलमा ४ चौका प्रहार गरे । यस्तै विवेक यादवले १९, गाउरान्शु शर्माले १२ र पृथु बास्कोटाले ११ रन बनाएपनि जीतको लागि पर्याप्त रहेन ।
लुम्बिनीको लागि शाद्ले भान अचाल्क्व्क, तिलक भण्डारी र ह्यारी टेक्टरले दुई-दुई विकेट लिँदा किशोर महतो, हर्मित सिंह र दीपेन्द्र सिंह एरीले समान एक-एक विकेट लिए ।
यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । लुम्बिनीको लागि दीपेन्द्र सिंह एरीले अर्धसतक पूरा गरे । यस्तै कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३-१३ रनको योगदान गरे ।
विराटनगरको लागि नन्दन यादव, सुर्य तामांग र विवेक यादवले समान दुई-दुई विकेट लिँदा केओन योसेफ र राज नाननले एक-एक विकेट लिए ।
जीतसँगै लुम्बिनीले ७ खेलबाट १२ अंक जोडेको छ । एक खेल कम खेलेको विराटनगर ४ अंकको दात पाँचौ स्थानमा रहेको छ ।
