नेपाल टी-२० लिग : लुम्बिनीको लगातार पाँचौ जीत

काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । शुक्रबार बिहान भएको खेलमा काठमाडौं नाइट्सलाई ३५ रनले पराजीत गर्दै लुम्बिनीले लिगमा लगातार पाँचौ जीत निकालेको हो ।

जीतको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय १५ रनमात्र बनाउन सक्यो । तेस्रो ओभरमै पाँच रन जोड्दा ४ विकेट गुमाएको काठमाडौंको लागि अज्मातुल्लाह ओमारजाइले सर्वाधिक ३८ रन बनाए । उनले २९ बलमा ३ छक्का प्रहार गरे । यस्तै कमल सिंह एरीले १९, सुनाम गौतमले १८ अलेक्स ब्लाकेले ११ र बासिर अहमेदले १० रन जोडे ।

लुम्बिनीको लागि हर्मित सिंहले ४ ओभरमा एक मेडन राख्दै ७ रन दिएर ३ विकेट लिए । यस्तै किशोर महतो, शाद्ले भान स्चाल्क्वेक, तिलक भण्डारी र ह्यारी तेक्टरले समान एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५० रन बनाएको थियो । लुम्बिनीको लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ४० रन बनाए । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै लाहिरु मिलन्थाले २५, शाद्ले भान स्चाल्कले २१, कुशल भुर्तेलले १९, अनिल शाहले १३ र हर्मित सिंहले १२ रनको योगदान गरे ।

काठमाडौंको लागि अज्मातुल्लाह ओमारजाइले ४ ओभरमा १२ रन दिएर दुई विकेट लिए । अविनाश बोहोरा, अनिल खरेल, बासिर अहमेद, सुनम गौतम र एलेक्स ब्लाकेको नाममा एक-एक विकेट रह्यो ।

जीतसँगै लुम्बिनी ५ खेलबाट १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेको काठमाडौं ४ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *