काठमाडौं । नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ । बुधबार दिउँसो भएको खेलमा पोखरालाई ६ विकेटले पराजीत गर्दै विराटनगर सुपर किंग्सले लिगमा पहिलो जीत दर्ता गरेको हो ।
जीतको लागि १ सय ४० रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । विराटनगरको लागि हुसेन टालटले अर्धसतक पूरा गरे । उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै अर्जुन साउदले २५, एन्द्रे म्याकार्थीले २१, पृथु बासकोटाले १५ र विवेक यादवले १४ रनको योगदान गरे ।
पोखराको लागि कुशल मल्ल र शरद भेषवाकरले समान दुई-दुई विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेटको क्षतिमा १ सया ३९ रन बनाएको थियो । पोखराको लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले १८ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । सिद्दान्त लोहनीके १९ बलमा ३ छक्काको मद्दतमा २६ रन बनाउँदा उपल थरांगाले १९, सुमित महर्जनले १२,प्रतिष जिसीले ११ र आसिफ शेखले १० रनको योगदान गरे ।
विराटनगरको लागि हुसेन टालट र राज नाननले समान दुई-दुई विकेट लिँदा नन्दन यादव, एन्द्रे म्याकार्थी र शहाब अलामले एक-एक विकेट लिए ।
जीतसँगै विराटनगरले ३ खेलबाट २ अंक जोडेको छ । सबै चार खेलमा पराजीत पोखरा अंकतालिकाको पुछारमा रहेको छ ।