वडा सदस्यसहित चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट रौतहटको माधवनारायणकी एक महिलाको मृत्यु भएको छ । असोज २९ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी ७० वर्षीया महिलाको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए । भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो । आईसोलेसनमा रहेकोमा उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो । अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भईरहेको थियो ।

उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गरेका छन् । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *