आधाले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ ।

उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।

यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।

विभागका वैदेशिक लगानी शाखा प्रमुख शङ्करसिंह धामीले विदेशी लगानीको सीमा घटाइएको, विदेशी नागरिकलाई भिसामा कडाइ गरिएको र विश्वभर देखिएको आर्थिक सङ्कटका कारण लगानी प्रतिबद्धता घटेको बताए । यो पाँच महिनाको अवधिमा वैदेशिक लगानीका परियोजनाको सङ्ख्यामा धेरैले नघटे पनि लगानी प्रतिबद्धता रकम भने आधाभन्दा बढीले कमी भएको उनले जानकारी दिए ।

गत असोज अन्तिमतिर सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँमा झारेको छ । लगानीको न्यूनतम सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीमा ९१ वटा साना उद्योग, १९ मझौला र एउटा ठूलो उद्योग दर्ता भएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटन परियोजनामा आएको धामीले जानकारी दिए ।

विभागका अनुसार पाँच महिनामा उत्पादनमूलक परियोजनामा सात, पर्यटनमूूलक ४७, सेवामूलक ५२, सूचना प्रविधिमा आधारित तीन र पूर्वाधारको एक परियोजनामा लगानी प्रतिबद्धता आएको छ । ती परियोजनाबाट छ हजार ५०९ जनाले रोजगारी पाउने अनुमान गरिएको समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिबद्धताअनुसार विदेशी लगानी नभिक्र्याएपछि विदेशी नागरिकलाई बिजनेस (व्यावसायिक) भिसामा कडाइ गरेको छ । पछिल्लो समय विदेशी नागरिकले बिजनेस भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानीका लागि स्वीकृत लिने गरेको विभागको ठम्याइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *