सप्तरीको राजविराजमा सहिद परिवारलाई मासिक भत्ता

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाले बिभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्र भित्रका सहिद परिवारलाई मासिक  ५ हजार १०० रुपैयाँ उपलब्ध गराएको छ।

आर्थिक वर्ष ०७९/८० को नगरसभाको निर्णयानुसार सहिदप्रति परिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ।

हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारको सङ्ख्या तीन पुगेको छ। मासिक पाँच हजार एक सयका दरले सहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले जानकारी दिए।

उक्त सुविधा प्राप्त गर्न सहिद परिवारले सहिद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्ने प्रावधान राखिएको छ। सो अनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परवीनले जानकारी दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *