सरकार गठनको रस्साकस्सी बढ्यो, प्रधानमन्त्री देउवाले सांसदहरुलाई बालुवाटार बोलाए

काठमाडौं । नयाँ सरकार गठनको रस्साकस्सी बढिरहेका बेला कामचलाउ सरकारका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन् ।

नवनिर्वाचित सांसदहरुसँग बधाई साटासाट गर्नका लागि आज दिउँसो ३ बजे सांसदहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो ।

बधाई साटासाटका साथै आजै संसदीय दलको निर्वाचनबारे पनि सभापतिले सांसदहरुसँग छलफल गर्ने बताइएको छ । देउवा छैटौंपटक प्रधानमन्त्री बन्ने सुरमा छन् । त्यसका लागि संसदीय दलमा आफ्नो बहुमतका पुर्‍याउन उनी मिहिन गृहकार्यमा जुटिरहेका हुन् ।

यो पटक कांग्रेसमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा संसदीय दलको उम्मेदवार रहने अनुमान छ । पछिल्लो समय गगनको पक्षमा संसदीय दल र प्रधानमन्त्रीको माहोल देखिइरहेको अवस्थामा देउवाले आफ्नो सक्रियता बढाएका हुन् ।

कोइराला र थापा एउटै गुटका नेता हुन् । निर्वाचन अगावै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका महामन्त्री थापा र समूहको नेतृत्व गरिरहेका नेता कोइराला दुवैले दलको नेतामा आकांक्षा राखेपछि उम्मेदवार टुंग्याउन सकस परेको बताइएको छ ।

इतर समूहका नेताहरु दलको नेताका लागि सभापति देउवाविरुद्ध डा. कोइराला र महामन्त्री थापामध्ये कुनै एक जनालाई अघि सार्न प्रयासरत छन् । डा. कोइराला र महामन्त्री थापामध्ये एक जना दलको नेताका लागि उम्मेदवार बन्ने तयारी रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *