८५ प्रतिशत सवारी साधनमा प्रदूषण समस्या, स्टिकर टाँसिएकामा पनि पुगेन मापदण्ड

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालित सवारी साधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् ।

हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ ।

वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपियाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘प्रदूषण परीक्षणमा ८५ प्रतिशतले पास गर्न सकेका छैनन्, हामी स्टिकर हेर्दैनौँ, गाडीको धुवाँ नै परीक्षण गर्छौं, कडाइका साथ जान्छौँ, कारबाही गर्छौं ।’ गाडीको धुवाँले वातावरणलाई निकै प्रदूषण मात्र गरेको छैन, नियम, कानुन पनि उल्लङ्घन भएको उनको भनाइ छ ।

विभागले गत मङ्सिर २२ गते सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ भएको दाबी गरेको थियो । प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह पनि गरेको थियो । काठमाडौँ उपत्यकामा चलेका सवारीसाधनबाट निस्कने धुवाँ मापदण्डभन्दा बाहिर देखिएको छ ।

महानिर्देशक घिमिरेका अनुसार धुवाँ परीक्षण गर्दा मापदण्डभन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न निर्देशन दिइनेछ । परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपियाँसम्म जरिवाना गर्ने विभागले जनाएको छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ उपदफा (२) अनुसार जरिवाना हुनेछ । विभागले टोलछिमेकमा खुला रूपमा फोहोर नजलाउन पनि आग्रह गरेको समाचार आजको गोरखापत्रमा छ ।

यातायात व्यवस्था विभागले मङ्सिर महिनामा सवारी तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५६ सवारीधनीलाई कारबाही गरेको तथ्याङ्क समाचारमा उल्लेख छ । विभागको नियमित अनुगमनले नियम उल्लङ्घन गरेबापत १०१ वटा लाइसेन्स, ३५५ वटा सवारी दर्ता किताब र सवारी इजाजतपत्र नियन्त्रणमा लिएको थियो ।

जसबाट तीन लाख ४८ हजार राजस्व सङ्कलन पनि गरेको छ । नियमित सवारी अनुगमन वर्षभरि सञ्चालन गर्नेगरी विभागको वार्षिक कार्ययोजनामा समावेश गरिएको प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *