बाबुराम भट्टराईले गैरजिम्मेवार अभिव्यक्ति दिएर जनता भड्काउन खोजेः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन् । । ६५औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भट्टराईले गैरजिम्मेवार र निराधार अभिव्यक्ति दिएर जनतालाई गलत सूचनाका साथ भड्काउन खोजेको बताएका हुन् ।

प्रधानमन्त्रीले निर्णय नै नभएको र कसले बनाउँछ भनेर टुंगो नै नलागेको आयोजनामा यति अर्ब बाँडेर खाए भनेर भन्नु गैरजिम्मेवार कुरा रहेको बताए ।

भट्टराईले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब खाएको र त्यसको प्रमाण आफूसँग रहेको अभिव्यक्ति दिएका थिए ।

‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यारम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्वप्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हो तर, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यत्ति अनुत्तरदायी हुन सक्दैनौं ।’ उनले आफू सत्य, निष्ठा जिम्मेवारीभावका साथ मात्रै अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *