काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ले सबै कम्युनिष्ट अब मिलेर जानुपर्ने बताएका छन् ।
मंगलबार भिडियो सन्देश जारी गर्दै विप्लवले क्रान्तिकारी कम्युनिष्टलाई घेराबन्दी गरेको आरोप लगाएका छन् ।
उनले दलाल पुँजीवादी सत्ताले संसदीय चुनावको नाटक मञ्चन गरेको बताएका छन् । उनले भनेका छन्, ’दलाल पूँदीवादी सत्ताले संसदीय चुनाको नाटक मञ्चन गरेको छ। जनयुद्धको सफलतालाई षड्यन्त्रपू्र्वक रोकिएको छ। कम्युनिष्ट जनमत र देशभक्तलाई छिन्नभिन्न पार्ने काम भएको छ । नेपालमा मुठ्ठीभर दलालहरुको सत्ता लाद्ने खेल चलेको छ। अनेकौँ बहानामा देशभक्त शक्तिलाई छिन्नभिन्न बनाउने खेल भएको छ।’
उनले भारतको पश्चिम बंगाल राज्यको उदाहरण दिँदै नेपाललाई पनि त्यही दिशामा लाने खेल भइरहेको बताएका छन् । उनले वैज्ञानिक समाजवाद चाहने नागरिकलाई निराश बनाउने खेल भइरहेको दाबी गरेका छन् ।
कम्युनिष्टहरुलाई संसदीय व्यवस्थाको पुच्छरमा घिसारेर कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने प्रयास भएको उनको तर्क छ ।