चुनावी परिणाम अपेक्षा गरे अनुसार आएनः प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरको चुनावी परिणाम अपेक्षा गरे अनुसार नआएको बताएका छन् । विजयी उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिन शुक्रबार गोरखा सदरमुकाममा आयोजित सभामा अध्यक्ष प्रचण्डले अपेक्षा गरेअनुसार परिणाम नआएको बताएका हुन् ।

उनले विचार राजनीति सिद्धान्त, एजेण्डा नभइ आवेगमा भ्रमित पार्ने संकेत देखा परेको बताए । उनले भने, ‘अपेक्षा अनुसार नतिजा आएन । गठबन्धन दलहरुले केही गृहकार्य गर्नुपर्ने देखिएको छ । जस्तो परिणामको अपेक्षा थियो । अब काठमाडौं गएपछि गठबन्धनको बैठक बस्नुपर्नेछ ।’ परिवर्तनको रक्षामा गोरखाली जनताले रक्षा गर्न अपील गरे ।

उनले भने,’अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन, राजनीतिक दलहरुले गम्भीररुपमा आत्मसमीक्षा गर्नुपर्ने देखियो। जनताको निम्ति समर्पित हुने नीति तथा कार्यक्रम ल्याएनौं भने देश अप्ठ्यारोमा पर्छ। देश भुमरीमा पर्न सक्छ।’

विचार र सिद्धान्तको अवमुल्यन हुने खतरा देखा परेको भन्दै राजनीतिक नेतृत्वले सोच्नुपर्ने अवस्था आएको प्रचण्डको भनाइ छ । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको उनको आरोप थियो ।

‘कसैलाई दोष र आलोचना र आरोपतिर जाँदै छैन, यो हाम्रा लागि चुनौती हो । राजनीतिक परिवर्तन र जनताको अधिकारका लागि तथा नेपाल सार्वभौमसत्ता नगारिक बनाउन लडे ती दलहरुलाई चुनौती हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *