खोटाङ ।
खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेको छ ।
कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो ।
पछिल्लो समय सङ्कटमा पर्दै गएको पुख्र्यौली व्यवसायलाई जगाउन नगरपालिकाको तर्फबाट किसानलाई कपास खेती गराउन आर्थिक वर्ष २०७७÷०७८ बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताईन।
बजारमा हलेसी क्षेत्रमा बुनिएका खाँडी कपडाको माग धान्न गाह्रो देखिएको छ उनले भनिन–लोपोन्मुख अवस्थामा पुगेको खाँडी कपडा बुन्ने व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन नगरपालिकाको तर्फबाट यस वर्षदेखि कपास खेतीका लागि बजेट व्यवस्था गरेका हौं ।
कपास खेतीका लागि ७ नम्बर वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६÷०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धनसम्बन्धी तालिम दिइएको वडाध्यक्ष चइन्द्र राईले बताए । यद्यपी, व्यावसायिक कपास खेतीका लागि क्षेत्र भने छनोट गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।
बाबुबाजेको पालासम्म हलेसीका विभिन्न क्षेत्रमा कपासको धागोबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएको थियो । स्थानीय कृषकले कपास खेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ ।
कोगटी र ढ्याङ्ग्रे खेती गरेर कपास निकालेपछि कपडा तयार पर्ने गरिएको छ । कपासबाट उत्पादन गरिएको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री हुने गरेको छ ।
कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेपनि माग धान्न नसकिएको वडा नम्बर–७ महादेविस्थानकी खाँडी कपडा उद्यमी जुनासरी राईले बताइन । यसअघि हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशसमेत निर्यात हुने गरेको थियो ।
त्रिधार्मिकस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत हुनेको गरेको थियो । पछिल्लो समय हलेसी आउने दर्शनार्थी तथा पर्यटकले खाँडी कपडा खोजे पनि उनीहरुलाई उपलब्ध गराउन नसकिएको उद्यमीहरुले बताउने गरेका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा खाँडी कपडा उत्पादन तथा अल्लो प्रशोधनका लागि सबैजसो स्थानीय तहले लगानी गरिरहेका छन् । साकेला गाउँपालिकाले मात्तिममा अल्लो प्रशोधन केन्द्र स्थापनाको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ ।
