असोज ३० गतेदेखि लामो दुरीका सवारीसाधनको टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायीको निर्णय

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरुमार्फत तत्काल सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरुले सम्बोधन गर्नुपर्ने लगायतका ५ बुँदे माग पुरा नभएको भन्दै मंसिर ६ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

महासंघले चक्र वृद्धि ब्याज दिई आर्थिक कारोबार गर्ने हिजोको साउकार प्रवृतिको अन्त्य गरौँ, पुँजी लगानीकर्ताको नाममा हुने अहिलेको बैकिङ कारोबारलाई मर्यादित रुपमा कायम गरौँ भन्ने नाराका साथ पहिलो चरणको विरोधका कार्यक्रमहरु घोषणा गरेको हो ।

महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा आगामी मंसिर ६ गते विभिन्न भाइचारा संघहरुसँग समन्वय गर्ने, मंसिर ७ गतेदेखि ११ गतेसम्म नेपाल राष्ट्र बैंक तथा विभिन्न बैंक प्रमुख कार्यालयमा डेलिगेसन जाने, मंसिर १२ र १३ गते विभिन्न बैंक तथा वित्तिय संस्था घर दैलो कार्यक्रम गर्ने उल्लेख छ ।

त्यस्तै मंसिर १४ गते सरकार र अर्थ मन्त्रालय साथै मातहतका मन्त्रालयमा डेलिगेसन जाने र १५ गते नेपाल राष्ट्र बैंक र नेपाल बैकर एसोसिएसन कार्यालय घेराउ गर्ने घोषणा गरेको छ । उक्त मागहरु सम्बोधन नभए मंसिर १६ गतेबाट देशव्यापी रुपमा आम हड्तालसम्मको कार्यक्रम गर्ने महासंघका महासचिव भरत नेपालले जानकारी दिए ।

उनले असोज ३० गतेदेखि लामो दुरीका सवारीको बुकिङ खुल्ला गर्ने बताए । महासंघले अघि सारेका मागहरुमा यातायात व्यवसायीले लिएको ऋणको ब्याज सहज परिस्थिति नहुँदासम्म पूर्ण रुपमा मिनाहा गर्नुपर्ने, सहुलियत ब्याजमा थप कर्जा उपलब्ध हुनुपर्ने, ऋण तिर्ने भाका अवधिलाई थप गरी पुनर्कर्जा सहितको पुनर्तालिका बनाइनुपर्ने लगायत छन् । महासंघले आफ्ना मागहरु पूरा गर्न प्रधानमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्रीहरु र सम्बन्धित कार्यालयहरुलाई आग्रह समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *