कर्णालीमा नेकपाको विवाद उत्कर्षमाः मुख्यमन्त्री शाहीद्वारा प्रमुख सचेतक शाहलाई पदमुक्त

सुर्खेत । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको कर्णाली प्रदेश संसदीय दलको विवाद उत्कर्षमा पुगेको छ । प्रमुख सचेतक गुलाफजङ शाहलाई दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेका छन् ।

उनको ठाउँमा सीता नेपाली नियुक्त गरेको पत्र थमाएको छ । मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेको छ ।

दलका नेताको हैसियतले मुख्यमन्त्री शाहीले संसदीय दलको विधानको धारा ७ अनुसार शाहलाई पदमुक्त गरेको जनाएका छन् । कामकारबाही सन्तोषजनक नभएकाले जिम्मेवारीमुक्त गरिएको शाहलाई दिइएको पत्रमा उल्लेख छ ।

आइतबार १८ जना सांसदले संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव बुझाएपछि शाहले मंगलबार एक बजेको लागि बैठक बोलाएका थिए । अब यो प्रकरणले उक्त बैठक अन्योलमा परेको छ ।

उनको स्थानमा सचेतक सीता नेपालीलाई नियुक्त गरिएको छ । यसैबीच आइतबार १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि त्यसलाई केन्द्रबाट मिलाउने प्रयास भइरहेको छ । सोमबार बिहानै मात्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूले छलफल गरेका थिए । प्रचण्डले अविश्वासको प्रस्ताव तत्काल रोक्न पार्टी अध्यक्ष ओली र वरिष्ठ नेतालाई आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *