काठमाडौं । सरकारले कोरोना भाइरस महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय भएपनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको बताएका हुन् ।
उनले काठमाडौंका आमनागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गरे ।
उनले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताए । मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको उल्लेख गरे ।
यसैबीच, असोज २२ गते बसेको मन्त्रिपरिषद बैठकले मदिराको आयातमा लगाएको बन्देज हटाएको छ । त्यस्तै बैठकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधन खरीदमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले फुकुवा गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र विकास समितिको अध्यक्षमा डा वशिष्ठ प्रसाद रिजाललाई नियुक्त गरिएको छ भने सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा बाबुराजा अमात्य नियुक्त गरिएको छ । औषधि परामर्श परिषदका सदस्यहरुमा संघरत्न बज्राचार्य,बाबुराम हुमागाई, दीपकप्रसाद दाहाललाई नियुक्त गर्ने निर्णय भएको समेत मन्त्री ज्ञवालीले जानकारी दिए ।
यसैगरी राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र विकास समितिको अध्यक्षको जिम्मेवारी डा देवबहादुर रोका क्षेत्रीलाई दिइएको छ । त्यस्तै लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरिएको छ भने नेपाल वायु सेवा निगमको महाप्रबन्धक पदमा डिमप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
