काठमाडौं । राणा शासनको अन्त्यका लागि नेपाली कांग्रेसले मुलुकमा सशस्त्र क्रान्ति नै गर्यो । त्यसक्रममा कतिको ज्यान गयो भने कति जना वर्षौं जेलमा पनि बसे । राणाले नागरिकलाई रैती ठानेकैले उसले सशस्त्र क्रान्ति गरेको बताउँदै आएको छ । तर आज त्यही कांग्रेसकी एक नेतृ जनतालाई रैती ठानेर अनेक धम्की दिँदै हिँड्न थालेकी छन् । त्यो पनि एक पटक होइन, पटक पटक ।
गत स्थानीय तहमा यस्तै विवादित अभिव्यक्ति दिएकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाले यसपटक पनि त्यस्तै अभिव्यक्ति दिएकी छन् । आरजुले हेलिकोप्टरमा चढेर आउन सक्ने क्षमता भएकालाई भोट दिन आग्रह गरेकी छन् । शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकामा गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै रहेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ । आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्ने, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् । नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस् ।’
आरजुको अभिव्यक्तिलाई लिएर कसैले व्यंग्य गरेका छन् भने कसैले डडेल्धुराका जनतामाथि अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक संजालमा ध्रुब बस्यालले आरजुको भनाईप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्,‘ थुक्छु तिमी जस्ती नारीलाई । जनतालाई गतिलो गरी हिँड्ने गोरेटो बाटो छैन, बिरामी पर्दा राम्रो स्वास्थ्य उपचार छैन,जनता नारकीय जीवन बाँचिरहेका छन् र त्यहीँ माथी यस्तो भाषण गरेर जनताको मजाक उडाउने ? यस्ता नेतालाई बेलैमा पन्छाउन सकेन भने देश र जनताले दुःख पाउँछ।’
पूर्वसचिव रामेश्वर खनाल लेख्छन्, ‘हेलिकोप्टरलाई जिताऔँ, त्यसपछि जो चढे पनि भैगो !’
त्यसैगरी राजनीतिक विश्लेषक मुमाराम खनालले राणाको भनाईलाई यसरी व्यंग्य गरेका छन्, ‘राणा म्याम ’खान्दानी’ नै हुन्– हेलिकप्टर चढ्न नसक्नेहरूको त भोट पनि लिन्नन्।’
अर्का सामाजिक संजाल प्रयोगकर्ता रमेश ढकालले लेखेका छन्, ‘हिजोआज भाउजुले राम्रो मार्केट तताउनु भएको छ । कहाँ के बोल्ने थाहै छैन प्याच बोलो कि हेडलाईन बन्नु हुन्छ। यो अगाडि डा. चाहिँ पढेर नै पाउनु भएको हो कि बिहेमा दाईजो लेउनु भएको हैछ कुन्नि ?’
यो मात्र होइन आरजुले स्थानीय तह निर्वाचनको प्रचारप्रसार सुरु भएपछि यस्ता थुप्रै अभिव्यक्ति दिँदै आएकी छन् । वैशाख २३ गते कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाइदिने आश्वासन दिँदै भोट मागिन् । उनले भनेकी थिइन्,‘कसैले मलाई फ्रि भिसा फ्रि टिकटको कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौं जान पैसा पर्दैन । सबै जनालाई लान सक्दैनौं । किनभने मापदण्ड हुन्छ । यो वडाबाट ५/६ जनालाई पठाउने प्रयास गर्छौं । पहिला इलेक्सन सिध्याऔं ।’
तर चुनावपछि कुनै त्यस्तो युवा भेटिएको छैन जो म निःशुल्क टिकट र भिसामा विदेश गएँ भनेर । त्यसैगरी आरजुले डडेल्धुरा पुगेर पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने धम्की दिइन् । उनले मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने धम्की दिएकी हुन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा थियो ।
उनले भनेकी थिइन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं ? यो कुरा ध्यान दिएर करूवा सरूवा‘ पार्टीलाई भोट नहाल्नुस्।’ कांग्रेस बिपीको चुनाव चिन्ह करूवा थियो । कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको थियो । अब चुनावपछि आरजुले बजेट रोकिन् रोकिनन् उनै जानुन । तर उनले सत्ताको व्यापक दुरुपयोग चाहिँ गरिन् ।
