काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभालाई सम्बोधन गर्न उनी केहीबेरमा सदरमुकाम खलङ्गा पुग्दैछन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले अध्यक्ष ओलीले राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै छन् । अहिले बिहान ११ बजे उनले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए । कार्यक्रममा सहभागी हुन ओली बिहीबार नै धनगढी पुगिसकेका छन् ।
अध्यक्ष ओली खलङ्गामा हुने कार्यक्रममा सहभागी हुन हेलिकोप्टरमा जाने कार्यक्रम छ । उनले आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताएको छ । यसअघि अध्यक्ष ओलीले २०७० सालको संविधानसभा निर्वाचनका क्रममा दार्चुलाको गोकुलेश्वरमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए ।