५३५ घर नदी कटानको उच्च जोखिममा

टीकापुर ।
कैलालीको भजनी नगरपालिका–५ का ५३५ घर नदी कटानको उच्च जोखिममा छन् । भजनी नगरपालिका– ५ लाई मोहना नदी र कन्द्रा नदीले पूर्व, दक्षिण र उत्तरतिरबाट घेरेको छ ।
यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् ।

बाईस टोल रहेको वडामा एक हजार ३५० घरधुरी छन् । यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् । वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब १८२ घर मोहना नदी कटानको जोखिममा छन् भने क्रवला, लौबस्ता, लालबोझी, भगतपुर, कर्मदेव, नयाँ बस्ती, बेलाहा, मिलानपुर, पिपरकोटी, दुदुवाफाटा र ठूलो कौवाखेडाका करिब ३५३ घर कन्द्रा नदीको कटानको जोखिममा छन् । यहाँ वर्षात्मा मात्र नभई हिउँदमा पनि कटान भइरहेको मिलानपुरकी विष्णु रेग्मी बताउछन । नदीमा पानी बढे बाढी आउँछ, नदी बस्तीमा पसेर खेतीयोग्य जमिन पटान हुन्छ, हिउँद भएमा थप कटान हुन्छ, विष्णुले भने –हामी ढुक्कले कहिल्यै सुतेका छैनौँ, सधैँ डर र तनावमा जीवन चलेको छ ।

यहाँ नदी कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौंँ परिवार घरवारविहीन भएका छन् । यस वर्ष गत साउनमा आएको बाढीले त्यहाँका सयौँ परिवार विस्थापित भएका थिए । बेलहाका टीकाराम भण्डारी नदी कटानले वर्षेनी यहाँका नागरिक दुःख झेलिरहेको बताउनुहुन्छ ।
बाढी आएपछि करिब एक महिना विस्थापित हुनुप¥यो, दुई ठूला नदीले घेरेकाले यहाँका नागरिक सधैँ त्रासमा रहन्छौँ”, भण्डारी भन्नुहुन्छ, “नदी नियन्त्रणका लागि सरकारले तदारुकता देखाउन आवश्यक छ । यहाँ खेतीयोग्य जमिन छ । खेती राम्रो हुन्छ । यो ठाउँ जोगाउन स्थायी तटबन्ध गरिन आवश्यक छ ।

पगिया पसारका नृप बुढा नदी कटान र पटानबाट नागरिकलाई उन्मुक्ति दिन सरकारले बृहत तटबन्ध गरिदिनुपर्ने माग गर्नुहुन्छ ।
बाढीपछि धेरै नेताले यो क्षेत्रको निरीक्षण गर्नुभयो । तर गरौँ भन्ने भावना कसैमा देखिएन, बुढाले भने –खेतीयोग्य सयौँ बिघा पटान भएर नागरिकलाई भोकमरीको समस्या हुने देखिएको छ । यस वर्ष बाढीले सयौँ बिघामा लगाएको धानबाली कटान गरेको छ । स्थानीय शर्मिला चौधरीको पाँच कठ्ठा जमिन थियो । बाढीपछि भएको पटानले उहाँको पूरै जमिनमा बालुवा भरिएको छ । शर्मिलाको परिवारलाई यतिखेर सबैले धान भित्र्याएको देख्दा पीडा हुन थालेको छ ।
सबैले धान काट्न थाले, म हेरेर बसेकी छ, शर्मिलाले भनिन–अब हामीले के खाने भन्ने चिन्ता बढेको छ ।

गत साउन १४ गते आएको बाढीपछि बस्तीमा धेरै नागरिकलाई मनोसामाजिक समस्या देखिन थालेको छ । कोरोना महामारीपछि भारतमा रोजगारीमा रहेकाहरु धेरै घर फर्किएका छन्, यहाँ बाढी आएर तहसनहस भएको छ, स्थानीय जयप्रसाद ढुङ्गाना भने–बाढीमा परेका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ । कतिपय नागरिक बर्बराउने, एक्लै कुरा गर्ने, डर लाग्ने, निद्रा नलाग्नेजस्ता समस्या देखिन थालेको गुनासो गर्नुभएको छ ।

सामाजिक अभियानकर्मीले समस्या देखिएका नागरिकलाई मनोसामाजिक परामर्शदातासँग छलफल गराइदिने गर्न थालेका छन् । नदी कटानका कारण खेतीयोग्य जमिन कटानको समस्या एकातिर छ भने बाढीले सयौं बिघा जमिनको धानबाली पूर्णरूपमा नष्ट गरेको छ ।
नदी कटान नियन्त्रणका लागि भजनी नगरपालिका आफैँले नसक्ने भएकाले प्रदेश सरकारलाई गुहारेका वडा नं ५ का वडाध्यक्ष केशव बुढाले बताउनुभयो । “सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, कृषिमन्त्री, कानूनमन्त्री सबैले निरीक्षण गर्नुभएको छ, यस वर्ष बजेटको व्यवस्था गर्ने आश्वासन पाएका छौँ, वडाध्यक्ष बुढाले भने–अब बृहत तटबन्ध बन्ने आश्वासन पाएका छौँ, मुख्यमन्त्रीज्यूले कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरेर भए पनि यस वर्ष बनाउने भन्नुभएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *