सुत्ने र खानेको टुंगो नहुँदा उम्मेदवारलाई स्वास्थ्य बिग्रने डर

मोरङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुन गइरहेको निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ। यस्तोमा उम्मेदवारलाई चुनाव प्रचारका लागि भ्याइनभ्याई छ। आचारसंहिताको पालना गर्दै मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारले कसरत गर्नुपरेको छ।

दिन रात नभनी प्रचार प्रसार अभियानलाई तीव्र बनाएका उम्मेदवारको न त सुत्ने ठेगान छ न त खाना खाने समय सन्तुलित नै छ। यस्तो अवस्थामा स्वास्थ्य बिग्रने हो कि भन्ने डर पनि कायमै छ। चुनावी प्रचार प्रसारका क्रममा अहोरात्र कार्यकर्ता, शुभचिन्तक र मतदातासँग घेरिएर बस्नु पर्ने हुँदा कतिपय उम्मेदवारलाई पर्याप्त विश्राम गर्न र स्वास्थ्य अनुकुल खान पाउन कठिन छ।

आफ्नो क्षेत्र निरन्तर घुम्नु पर्ने हुँदा सुत्ने र खानपिनको ठेगान छैन। अव्यवस्थित भोजन र अनिँदोका कारण चुनावको मुखैमा अस्वस्थ भइने हो कि भन्ने चिन्ताले उम्मेदवारलाई सताएको छ। मोरङको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका सदस्य पदका लागि सत्ताघटक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले आफू जनताको बीचमा नै रहने गरेको र काम गर्दै जाँदा बढीमा चार घण्टा सुत्ने गरेको बताए।

उनले सुत्ने र खाने समयको तालिका नमिल्दा स्वास्थ्य बिग्रने र स्वास्थ्य बिग्रिए जनतालाई न्याय दिन नसक्ने भन्दै केही खानेकुरासँगै बोकेर हिँड्ने गरेको बताए। मोदीले चुनाव प्रचारका दौरान चाउचाउ, चिउरा, सातु बोकेर हिँड्ने गरेको बताए।

मोरङको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभाका सदस्य पदका नेकपा (एमाले) –जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विनोदप्रसाद ढकालले आफू प्रायः राति ११ बजे सुतेर सखारै ५ बजे ओछ्यान छाडिसक्ने बताए।

उनले मानिसलाई छ घण्टाको निद्रा पर्याप्त भएको र आफूले पनि सक्दो छ घण्टाको विश्राम लिने प्रयास गर्ने गरेको बताए। ढकालका अनुसार उनी कर्नफ्लेक्स, चिया, फलफूल खाएर घरबाट निस्कन्छन्। घरदैलो अभियानकै दौरान जस्तो खानाको व्यवस्था हुन्छ त्यस्तै खान्छन्। स्वास्थ्यप्रतिको ध्यान अपरिहार्य भएको उनले बताए।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ४ (२) मा सत्ताघटक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार भीम पराजुलीले अहिले निर्वाचनको बेला आफूले तीन/चार घण्टामात्र सुत्न पाएको बताए। निद्रामा असर परे पनि भगवान्को आराधना, तप र ध्यानले शरीरको ऊर्जामा खासै प्रभाव नपरेको उनको भनाइ छ।

उनले चिउरा, भुजिया र बिस्कुट बोकेर हिँड्ने गरेको बताए। अनिँदोका कारण स्वास्थ्यमा समस्या आउने चिन्ता लाग्नु स्वाभाविक भएको उम्मेदवार पराजुलीले बताए पनि आफूलाई अहिलेसम्म ज्वरोले समेत नछोएको भन्न छुटाएनन्।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ५ (२) मा सत्ताघटक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अमृतकुमार अर्यालले निर्वाचन नजिकिँदै गरेको अवस्थामा मुस्किलले तीन साढे तीन घण्टा मात्र सुत्ने गरेको बताए।

उनले चिउरा, झिझिया, चना, बिस्कुट, चिया र कहिलेकाहीँ पानीमात्र खाएर चुनाव प्रचारमा लाग्ने गरेको बताए। कार्यकर्ता र मतदाताले आफ्नो घरमा दाल भात खाइदिन आग्रह गरे पनि समय कम भएकाले साधारण खानेकुराबाट नै प्रायः काम चलाउने गरेको उनको भनाइ छ।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ६ (२) बाट नेकपा एमालेका उम्मेदवार कृष्ण बस्नेतले अहिले आफूलाई सुत्ने कुनै छुट नभएको बताए। उनी अहिले छिटोमा रातिको १ बजे सुत्ने र बिहानै ५ बजे नै उठ्ने गछ्रन्। बस्नेतले मंसिर ४ गतेपछि मात्रै निद्रा पूरा गर्ने बताए।

बस्नेतले चुनावी प्रचारका क्रममा भेट्दा खाना खाइहाल्ने नभेट्दा भोकै बस्ने दिनचर्या रहेको बताए। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्ने, राष्ट्रको पनि ख्याल गर्नुपर्ने, जनताका बीचमा गएर मत पनि माग्नु पर्ने भएकोले सबैतिर समन्वय मिलाएर हिँड्नु पर्ने उनको भनाइ छ।

प्रदेशसभा सदस्य पदका लागि मोरङ निर्वाचन क्षेत्र नं ६ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेशकुमार मास्केले मंसिर ४ गतेको निर्वाचनपछि चिकित्सककहाँ शरीर जाँच गराउने बताए। चुनाव प्रचारका दौरान अव्यवस्थित खाना र सुताइले रक्तचाप घटबढ भएको शंका लागेकाले स्वास्थ्यले चिन्तित बनाएको मास्केले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *