किन गर्दैछन् गठबन्धनका शीर्ष नेता क्रस भोटिङको शंका ?

काठमाडौं । केही दिनअघि नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सत्ता गठबन्धनका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई पाँच मिनेट बोलेर देखाऊ भन्दै चुनौती दिए । रिजालले सामाजिक संजालमा लेखेका छन्, ‘चुनाव प्रचार त आ–आफ्नो एजेन्डामा हुनुपर्ने हो । तर, सत्तारूढ गठबन्धनसँग देश निर्माणको आफ्नो कुनै एजेन्डा छैन र आफ्ना मञ्चमा हरेक नेता नेकपा एमाले र अध्यक्ष केपी ओलीलाई गाली गर्नमा प्रतिस्पर्धा गरिरहेका छन् । हाम्रो चुनौती छ–हिम्मत छ भने आफ्नो भाषणमा केपी ओलीको नाम नलिएर पाँच मिनेट बोलेर देखाऊ !’

अहिले सत्ता गठबन्धनले हरेक प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला आयोजना गरिरहेको छ । हरेक भेलामा शीर्ष नेताहरुको एउटै भाषण हुन्छ गठबन्धनभित्र शंका नगरौं । अहिलेको लागि गठबन्धन अपरिहार्य छ । भोलिको दिनमा पनि गठबन्धनकै सरकार बन्ने हो । अनिमात्र प्रजातन्त्र, गणतन्त्र, समावेशिता लगायतका सबै कुराहरु स्थापित गर्नसक्छौँ । अनि आफूहरुको गठबन्धन पवित्र, एमालेले अन्य दलसँग गरेको तालमेल अपवित्र । यही हो सत्ता गठबन्धनका नेताहरुको चुनावी एजेण्डा ।

नेकपा एमाले आगामी प्रधानमन्त्री पार्टी अध्यक्ष केपी शर्मा ओली भनेर चुनावमा होमिइसकेको छ । उसले जनतामाझ मत माग्न जाँदा हाम्रो प्रधानमन्त्री ओली भन्दै मत मागिरहेको छ ।
तर सत्ता गठबन्धन भने एजेण्डाविहीन देखिएको छ । उसको न भावी प्रधानमन्त्री छ न कुनै योजना । किनकी यो गठबन्धन झण्डै डेढ वर्षदेखि सत्तामा छ । अहिलेसम्म गरेका काम र आगामी सरकारले गर्ने योजना र सरकारको कसले नेतृत्व गर्छ भन्नेमा ऊ स्पष्ट छैन ।

बरु गठबन्धनभित्रै क्रस भोटिङको शंका देखिएको छ । प्रधानमन्त्रीको भनाईबाट पनि यो कुरा स्पष्ट हुन्छ । शुक्रबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा शंका उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । यस्तो चिन्ता देउवालाई मात्र नभई प्रचण्ड र माधव नेपाललाई पनि उस्तै छ । प्रचण्डले त गठबन्धनमा आवद्ध दलहरुले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताउँदै आएका छन् । उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारहरुलाई सचेत गराए । प्रचण्डको भनाई थियो, ‘रुखलाई हँसियाहथौडामा भोट हाल्न गाह्रो । रुख र हँसियाहथौडालाई कलममा भोट हाल्न गाह्रो । कलमलाई फेरि रुख, हँसियाहथौडामा भोट हाल्न गाह्रो भयो भनेको जस्तोपनि सुनिन्छ । कतिपयले प्रचार गर्दाखेरी आफ्नो त प्रचार गरिन्छ । अर्काको त प्रचार गरिँदैन । आफ्नो पार्टीको नभएको उम्मेदवारको त प्रचार गरिँदैन भनेको पनि मैले यदाकदा सुनेको छु ।’

पूर्वसभामुख दमननाथ ढुंगाना गठबन्धन दलका शीर्ष नेताहरुको अभिव्यक्ति सुन्दा उनीहरुमा आफैंमा विश्वास हराएको आभास भएको बताउँछन् । उनी भन्छन्, ‘कांग्रेस माओवादीको गठबन्धन झन् कस्सिएको हुनुपर्ने हो निर्वाचन प्रचार प्रसारकालमा । क्रस भोटिङको शंका किन गदैछन् शीर्ष नेताहरु यतिबेला आफ्नै विश्वास हराए जसरी ?’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *