पोखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।
हालसम्म नौ सय ५१ पदकको छिनोफानो हुँदा आर्मीले एक सय २२ स्वर्ण, ७७ रजत र ६२ कांस्यपदकसहित कूल दुई सय ६१ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४६ स्वर्ण, ४३ रजत र ५० कांस्यपदकसहित एक सय ३९ पदक जितेको छ ।
अर्को विभागीय टिम एपिएफले ३७ स्वर्ण, ४४ रजत र ६६ कांस्यपदकसहित कूल एक सय ४७ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ४४ कांस्य पदकसहित ९१ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३६ रजत र ४५ कांस्यसहित कूल १ सय पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले १० स्वर्ण, सात रजत छ कांस्यसहित २३ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत, २५ कांस्यसहित ३७ पदक, प्रदेश १ ले पाँच स्वर्ण २१ रजत र ३५ कांस्यसहित ६१ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, सात रजत र २० कांस्य पदकसहित ३२ पदक जितेका छन् ।
लुम्बिनी प्रदेशले तीन स्वर्ण, १६ रजत र २९ कांस्यसहित ४८ र कर्णाली प्रदेशले एक स्वर्ण, दुई रजत, नौ कांस्य पदकसहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी रहेका छन् ।