उद्यमीलाई टिकट सही कि गलत ?

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा थुप्रै उद्यमी व्यवसायीहरु उम्मेदवार बनेका छन् । प्रायः सबै दलबाट उद्यमी व्यवसायी उम्मेदवार बनेका छन् । निर्वाचनमा नाम चलेका अर्बपति व्यवसायीहरु पनि यस पटक चुनावमा होमिएका छन् ।टिकट पाएसँगै उनीहरु रोजगारी सृजना, स्वदेशमा उद्यमशीलताको विकास लगायतका एजेण्डा बोकेर जनताको घरदैलोमा जान थालिसकेका छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नवलपरासी क्षेत्र नम्बर एकबाट अर्बपति विनोद चौधरी उम्मेदवार बनेका छन् । चौधरी सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । चौधरीले हृदयेश त्रिपाठीसँग प्रतिस्पर्धा गर्दैछन् । अहिलेसम्म समानुपातिकबाट सांसद बन्दै आएका चौधरीले यसपटक निर्वाचन लड्न लागेका हुन् । चौधरी दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट सभासद बनेका थिए । त्यसपछि २०७४ मा भएको निर्वाचनमा नेपाली काँग्रेसकातर्फबाट समानुपातिकको सांसद भए । अहिले उनी नेपाली काँग्रेसको केन्द्रीय सदस्य पनि हुन् । प्रत्यक्षतर्फको निर्वाचन लडेको अनुभव नभएपनि नवलपरासीमा चौधरी ग्रुपका धेरै उद्योग प्रतिष्ठानहरु भएकाले उनले यो क्षेत्र रोजेका हुन् ।

त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा पनि व्यवसायी र नेताबीच चुनावी भिडन्त हुँदैछ । त्यहाँ नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालसँग स्वास्थ्य व्यवसायी सुनिलकुमार शर्मा प्रतिस्पर्धामा गर्दैछन् । शर्मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसले शर्मालाई सो क्षेत्रबाट उम्मेदवार बनाएको छ । नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजका सञ्चालक समेत रहेका शर्मा राजनीतिक प्रतिस्पर्धामा कत्तिको सफल होलान् भन्ने यकिन भने मंसिर ४ को मत निर्वाचनपछि नै हुनेछ ।

प्रतिनिधिसभाको सदस्यका लागि व्यवसायी उम्मेदवार बनेको अर्काे जिल्ला रसुवा हो ।
रसुवाबाट निर्माण व्यवसायी मोहन आचार्य उम्मेदवार बनेका छन् । आचार्यलाई सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा सत्तारुढ नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । आचार्य निवर्तमान सांसद पनि हुन् । उनको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङसँग हुने छ ।

त्यसैगरी चितवन क्षेत्र नम्बर २ बाट शिक्षा व्यवसायी उमेश श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री समेत रहेका श्रेष्ठलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । श्रेष्ठको निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन पनि गर्न थालिएको छ । किनभने यो निर्वाचन क्षेत्रमा एमालेको तर्फबाट निवर्तमान सांसद कृष्णभक्त पोखरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने उम्मेदवार बनेका छन् ।

अर्का अर्बपति बालकृष्ण शिवाकोटी एमालेको टिकट लिएर दोलखाबाट चुनाव लड्दैछन् । कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानी बोर्डका आमन्त्रित सदस्य शिवाकोटी सफल व्यवसायी हुन् । शिवाकोटी प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् ।

यस्तै, निर्माण व्यवसायी पूर्णबहादुर तामाङ (कान्छाराम) रामेछापबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवार बनाएको हो । उनको मुख्य प्रतिस्पर्धीको रुपमा एमालेका उम्मेदवार कैलाश ढुंगेल हुन् । त्यस्तै वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङ मनाङबाट उम्मेदवार बनेका छन् ।

प्रतिनिधिसभा सदस्यको लागि अछाम क्षेत्र नम्बर १ मा पनि व्यवसायी उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेले झपट बोहोरालाई प्रत्यक्षतर्फको टिकट दिएको छ । रावल पूर्व बैंकर हुन् । त्यस्तै पर्यटन व्यवसायी नरेन्द्र साह कलवार सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको हो । उनको मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीसँग हुनेछ ।

त्यसैगरी डोल्पाबाट उम्मेदवार बनेका धनबहादुर बुढा यार्सागुम्बा व्यवसायी हुन् । उनलाई सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजावदीले उम्मेदवार बनाएको हो । उनको मुख्य प्रतिस्पर्धा एमालेका उम्मेदवार गणेशबहादुर शाहीसँग हुनेछ ।

उनीहरु सबै सफल व्यवसायीका रुपमा परिचित हुन् । तर व्यवसायीमाथि एउटा आरोप लाग्ने गरेको छ राजनीतिक दलहरुलाई चन्दा दिएर उम्मेदवार बनेको भनेर । विनोद चौधरीले त पुस्तक नै लेखेका छन् धनी बन्नका लागि आफूले कानुनी तगाराहरु के कसरी छिचोलेँ ? भन्ने सन्दर्भमा । चौधरीकै सन्दर्भमा हेर्ने हो भने पनि दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट सभासद बनेका थिए । चौधरीलाई राजनीतिमा प्रवेश गराउने एमाले थियो ।

तर २०७४ मा कांग्रेसको तर्फबाट समानुपातिक सांसद बने भने अहिले कांग्रेस केन्द्रीय सदस्य हुँदै प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बनेका छन् । राजनीतिक विष्लेषकहरु भन्छन् कि उद्यमी व्यवसायीहरुको संसदमा बाहुल्यता भयो भने उनीहरुले आफू अनुकूल कानुन बनाउन सक्छन् । अनि पार्टीमा लामोसमयदेखि योगदान गरेका व्यक्तिहरु पछि पर्न थाल्छन् र अन्त्यमा उद्यमी व्यवसायी मात्रै निर्वाचन लड्ने दिन पनि आउन सक्छ । त्यसैले उद्यमी व्यवसायीलाई पार्टीले यसरी टिकट दिन नहुने मत उनीहरुको छ । अहिले त पार्टीहरुले उनीहरुलाई टिकट दिएको हो । अब निर्वाचनमा कतिको जित होला र कतिको हार । त्यसका लागि मंसिर पहिलो सातासम्म कुर्नै पर्छ । अनि जितेर संसदमा जानेहरुले कस्तो भूमिका निर्वाह गर्छन् र भोट माग्न जाँदा गरेको वाचा पूरा गर्छन् कि गर्दैनन् ? त्यसका लागि भने केही समय पक्कै कुर्नैपर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *