स्वर्णपदक विजेता खेलाडी भन्छन्ः ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

कृष्ण दवाडी, कास्की। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते।

गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध रहेका छन् । यसैले विभागीय टोलीबाट प्रतियोगिता खेलेका छन्। उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल भएका छन् । यसरी ठूला प्रतियोगिता अब कहिले खेल्न पाइन्छ भन्ने उनमा चिन्तासमेत देखिन्छ ।

आफ्नो कीर्तिमानीले दिएको खुसीसँगै प्रतियोगिता नभएर स्तर खस्किने हो कि भन्ने चिन्ता लाग्ने उनले बताए । पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु खेलाडीका लागि ठूलो अवसर भएको जनाउँदै उनले निरन्तर प्रतियोगिता हुनुपर्नेमा जोड दिए ।

नवौँका लागि चार वर्ष प्रतीक्षा गरेको बताउँदै उनले राष्ट्रिय खेलकुद नियमित गर्न आग्रह गरे । उनको लक्ष्य अब राष्ट्रिय प्रतियोगिताबाट माथि उठेर दक्षिण एशियाली र एशियाली प्रतियोगितासम्म पुग्ने र देशलाई पदक दिलाउने छ ।

उनले भने, “देशमा प्रतियोगिता नियमित हुनुपर्दछ नत्र हाम्रो स्तर खस्किन्छ । नियमित खेल भयो भने साउथ एशियन र एशियन लेभलसम्म पुग्न सक्छौँ । यसका लागि देश लाग्नुपर्नेमा खेलाडी व्यक्ति मात्र लागि पर्दा हामी माथिल्लो स्तरमा पुग्न सकेका छैनौँ ।”

उनले सन् २०१८ मा इन्डोनेसियामा भएको ‘एसियन गेम्स’मा आठ सय मिटरको राष्ट्रिय कीर्तिमान बनाएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि पदक ल्याउन सकेका छैनन्। सोमको अनुभवमा नेपालीसँग खेल्न विदेशी पनि डराएका हुन्छन् तर नेपालको खेल वातावरण नभएकाले उनीहरु हावी हुने गरेको कुमालले बताए ।

“हाम्रोमा नियमित खेल्ने वातावरण छैन, ट्याकमा दुई÷तीन वर्षसम्म खेल नहुँदा कमजोर भएर बस्नुपर्ने बाध्यता छ । ट्रयाक हाम्रा लागि भगवान् हो, यही भनेर कुरेर बसेका छौँ हामी । राम्रो खेल देखाउन प्रतियोगिता नियमित आयोजना हुनुप¥यो ।” उनले भने ।

नेपाल प्रहरीको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुदको आफ्नो ‘डेब्यु’मै ऐतिहासिक स्वर्ण पदक जित्यो । अर्को विभागीय टोली सशस्त्र प्रहरीबल लाई पोखरा रङ्गशालामा पराजित गरेर पुलिसले स्वर्ण जित्दा टोलीका खेलाडीमा खुसीको सीमा थिएन ।

पुलिस टोलीको कप्तानी गरेकी नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटमा व्यावसायिकताको खाँचो रहेको बताइन् । यसअघिका प्रतियोगितामा प्रदेशबाट खेल्दै आएकी उनी यसपटक विभागीय टोलीबाट खेलिन । विभागबाट खेल्दा खेलाडीलाई सम्मान मिल्ने गरेको उनको अनुभव छ ।

उनले भनिन्, “विभागमा खेलाडीमा जागीरको सुरक्षा र सुविधा हुन्छ । प्रदेशबाट सुविधा नपाएपछि खेलाडी विभागमा जाने हुन् । प्रदेशमै आवश्यक सुविधा दिने हो भने खेलाडीको पनि भविष्यको सुरक्षा हुन्छ, खेलले पनि व्यावसायिकता पाउँछ ।”

उनको अनुभवमा विभागीय टोलीमा खेलाडीको सुरक्षा र संरक्षण भए पनि व्यावसायिक खेलको चुनौती भने रहन्छ । उनले नेपाली महिला क्रिकेटको विकासका लागि खेलाडीलाई खेलिरहने वातावरण र आधार निर्माण गर्नुपर्नेमा जोड दिईन्।

खेलकुदका सरकारी निकायदेखि विभिन्न कर्पोरेट क्षेत्रले पनि महिला क्रिकेटमा लगानी गरेर प्रतियोगिता सञ्चालन गर्न सकेको खण्डमा राम्रो व्यावसायिकताको विकास हुने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *