बाबुरामका बहुरुप

काठमाडौं । २०७७ साल असोज अन्तिम साता गोरखामा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शीर्ष तीन जना नेतामाथि बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाए । डा. भट्टराईले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिए ।

भट्टराईले भनेका थिए, ‘करोड र लाखका कुरा छोडौं, अर्ब, अर्बको लुट भइरहेको छ। म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन् । मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् । चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो।’

उनले यसको छानबिन गर्न जकलोकपाल गठन गर्न माग गरे । भट्टराईको अभिव्यक्तिपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गरी भट्टराईको भनाई झुठो, कपोलकल्पित भन्दै खण्डन गरे । डा. भट्टराईले उक्त आरोप लगाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचारको प्रमाण पेश गर्न चुनौती दियो । नेकपा र नेपाली कांग्रेसले उक्त भनाईको खण्डन गरेपछि भट्टराईले सामाजिक संजालमा यस्तो लेखे, ‘बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग,यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकार सम्पन्न जनलोकपाल गठन गरौं । सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गरौं । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ !’

यो विषय केही दिन चर्चाको विषय बन्यो र त्यतिकै सेलायो । तर तीन जना पूर्वप्रधानमन्त्रीलाई ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाउने तिनै बाबुराम भट्टराईले शनिबार गोरखामा आयोजित एक कार्यक्रममा यसअघि शीर्ष नेताहरुलाई लगाएको आरोप सच्याउँदै अब कुनै विवाद नभएको बताएका छन् । सत्ता गठबन्धनले आयोजना गरेको कार्यक्रममा भट्टराईले भने, ‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैंले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएको थिएँ, तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अब त्यो सच्चियो ।’ उनले नेपाल आफैले आयोजना बनाउने भएपछि अब बूढीगण्डकीबारे आफूहरुकाबीच कुनै विवाद नभएको बताए ।

भट्टराई कुनै सामान्य मान्छे होइनन् । उनी त माओवादी जनयुद्ध हाँक्ने प्रचण्डपछिका दोस्रो नेता हुन् । त्यतिमात्र होइन देशको अर्थमन्त्री, प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । यो अभिव्यक्ति दिँदा भट्टराई जनता समाजवादी पार्टीमा थिए । उनले त्यतिबेला मनलाग्दी बोले । अहिले अवस्था फरक छ । उनी जसपाबाट निकालिए भन्दा पनि हुन्छ । नेपाल समाजवादी पार्टी खोलेका छन् । उनको पार्टी अहिले माओवादी चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएको छ । अब उनको तालमेल प्रचण्डसँग छ । छोरी मानुषी माओवादी चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर ७ को उम्मेदवार छिन् । प्रचण्डसँग मिलेपछि हिजो बोलेका कुरामा विवाद छैन रे । गठबन्धनबाट छोरी उम्मेदवार बनाउनकै लागि थियो त यो सबै ?

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *