आजदेखि सुनकोसी–मरिण डाइभर्सन खन्न सुरु, दुई वर्षमा १३ किलोमिटर सुरुङ तयार हुने

सिन्धुली । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग शुक्रबारदेखि टनेल बोरिङ मेसिन (टीबीएम)बाट खन्न सुरु गरिने भएको छ । उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन जडान गरिसकेको छ ।

कमलामाई नगरपालिका–२, कुसुमटारमा प्लेटफर्म निर्माणको काम पूरा गरेपछि टीबीएम मेसिनमार्फत औपचारिक रूपमा सुरुङ खन्न लागेको हो । उक्त कम्पनीले भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको पनि ठेक्का पाएको छ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख मित्र बरालका अनुसार उक्त प्लेटफर्म निर्माण गरी टनेल बोरिङ मेसिन जडान गर्ने काम सकिएको छ ।

“टीबीएम राख्न हामीले प्रवेश मार्गमा ४० मिटर लामो सुरुङ खनिसकेका छौँ,” उनले भने, “२३० मिटर लामो टनेल बोरिङ मेसिन अट्ने गरी उक्त सुरुङसहित प्लेटफर्म निर्माण गरिएको छ । अब शुक्रबारबाट उक्त मेसिनले १३.३ किलोमिटर सुरुङ खन्दै दुई वर्षमा खुर्कोटमा निस्किने छ ।” पानी बग्ने ५.५ डायमिटर रहने गरी अहिले ६.६ डायमिटरको सुरुङ मेसिनले खन्नेछ । सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपैयाँमा ठेक्का पाएको उनले बताए ।

सुरुङ खन्ने क्रममा कुनै भौगर्भिक समस्या नआए दुई वर्षभित्र खनिसक्ने योजना छ । टीबीएमले आठ÷आठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजना प्रमुख बरालले बताए ।

आयोजनाका अनुसार सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *