देउवा र दाहालका प्रतिस्पर्धी ८० नाघेका

काठमाडौं। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा २५ देखि ९९ वर्षसम्मका उम्मेदवार मैदानमा उत्रिएका छन्। प्रमुख राजनीतिक दलका अध्यक्षहरूसँग पाकादेखि युवा उमेरका उम्मेदवार भिड्दैछन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ८० वर्ष नाघेका उम्मेदवार भिड्दैछन्।

गोरखा–२ बाट उम्मेदवारी दिएका माओवादी अध्यक्ष दाहालसँग ९९ वर्षका स्थानीय टीकादत्त पोखरेल चुनावमा भिड्दैछन्। पोखरेल नेपाली कांग्रेस (बिपी) का तर्फबाट उम्मेदवार हुन्। उनी देशभरिमै सबैभन्दा पाका उम्मेदवार हुन्। दाहालसँग उनी मात्रै नभएर अन्य ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेका २९ वर्षीय अब्दुल सलाम मियाँलगायत स्वतन्त्रसम्मका उम्मेदवार दाहालसँग चुनाव भिड्दैछन्।

त्यसैगरी कांग्रेस सभापति देउवासँग डडेल्धुरा–१ मा ८४ वर्षीय कर्णसिंह रावल भिड्दैछन्। रावल स्वतन्त्रतर्फका उम्मेदवार हुन्। उनी २०७४ सालमा प्रतिनिधिसभा चुनावमा पनि डडेल्धुरामै स्वतन्त्र उम्मेदवार थिए। त्यतिबेला पनि देउवासँगै चुनावमा उम्मेदवार भएका उनले १४० मत पाएका थिए। उनले यसपटक पनि देउवासँग चुनाव लड्न रहर गरेका हुन्।

अन्य पाका व्यक्तिहरू पनि चुनावी मैदानमा छन्। प्रतिनिधिसभातर्फ १६५ सिटका लागि देशभरबाट ८० देखि ९९ वर्षसम्मका उम्मेदवार १० जना छन्।

तेह्रथुम–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट ८७ वर्षीय युवराज गौतम चुनावी मैदानमा छन्। महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्षसमेत रहेका ८० वर्षीय महन्थ ठाकुर उम्मेदवार बनेका छन्। सर्लाहीबाट नेकपा माओवादी केन्द्र (एकल चुनाव चिह्न) बाट ८५ वर्षीय महिन्द्र राय यादव चुनावी मैदानमा छन्। उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेका थिए।

त्यसैगरी बागलुङ–१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका ८० वर्षीय चित्रबहादुर केसी चुनाव लड्दैछन्। उनी संविधानसभाको चुनावमा त्यसै क्षेत्रबाट विजयी बनेका थिए। स्वतन्त्र उम्मेदवारका रूपमा बारा–१ बाट ८१ वर्षीय कृष्णराज गिरी, पर्सा–१ बाट ५० वर्षीय हृदयनारायणप्रसाद बरै, काठमाडौं–६ बाट ८५ वर्षीय विष्णुप्रसाद ढकाल, कास्की–३ बाट ८४ वर्षीय पशुपतिनाथ तिमिल्सिना मैदानमा छन्।

राजनीतिलाई फरक रूपमा हेर्दै आएका युवा गत स्थानीय चुनावदेखि राजनीतिमा आकर्षित देखिएका छन्। २०७९ वैशाख ३० मा भएको स्थानीय चुनावमा पनि युवा चुनावी मैदानमा थिए। युवा उम्मेदवारले स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दिएका थिए। यसपटक पनि स्वतन्त्र उम्मेदवारको लर्को देखिन्छ।

प्रतिनिधिसभाको सांसद बन्ने इच्छा राखेर २५ देखि ४० वर्ष उमेर समूहका ७८३ जना युवा उम्मेदवार छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये ७८३ जना २५ देखि ४० वर्ष उमेरसम्मका छन्। तीमध्ये १०१ जना महिला र ६८२ जना पुरुष छन्।

आयोगका अनुसार ४१ देखि ६० वर्ष उमेर समूहका १ हजार ३४६ जना उम्मेदवार छन्। तीमध्ये १२४ जना महिला छन्। उम्मेदवारको उमेर समूह हेर्दा वयस्कहरूको वर्चस्व देखिन्छ। कुल उम्मेदवारमध्ये ४० देखि ६० वर्ष उमेर समूहका धेरै छन्।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा ८० वर्षमाथिका उम्मेदवार थिएनन्। त्यसबेला ८० वर्षका दुईजना मात्रै उम्मेदवार थिए। त्यसबेला ८० वर्षीय महिन्द्रराय यादव र कर्णसिंह रावल उम्मेदवार बनेका थिए। ८० वर्षभन्दा माथिका कुनै पनि उम्मेदवार प्रतिस्पर्धामा थिएनन्। प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले सपथ गराउने प्रचलन छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *