कांग्रेसमा सिट बाँडफाँटः देउवा ५६, कोइराला २४ र अन्यलाई २० प्रतिशत

काठमाडौ । ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता नेतृत्व गरेको मुख्य दल नेपाली कांग्रेसबाट विभिन्न ६ गुटका ९१ नेताले टिकट पाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदा डा। शेखर कोइराला नेतृत्वको इतर पक्षले असन्तुष्टि जनाउँदै विद्रोहको चेतावनी दिएपछि देउवाले बन्दसूची सच्याउँदै आयोगमा पेश मात्रै गरेनन् प्रत्यक्षतर्फको सिट भागबण्डामा पार्टीभित्रका ६ गुटलाई मिलाउँदै उम्मेदवार बनाए ।

कांग्रेसले आगामी निर्वाचनमा सत्तामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी तथा सत्ता बाहिर रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चासहितको चुनावी तालमेल गरेको छ । यी दलबीच तालमेल हुँदा पनि प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कूल १६५ सिटमध्ये कांग्रेसले ९१ सिट पाएको हो ।

कांग्रेसको भागमा परेको सिटमा संस्थापन पक्षले ५१ जनालाई टिकट दिएको छ । यो कांग्रेसले पाएको कूल सिट संख्या ९१ को ५६ प्रतिशत हो ।

यसैगरी, इतर समूहको नेतृत्व गरेका शेखर समूहले २२ सिट पाएको छ । सो सिट संख्या कूल सिट संख्याको २४ प्रतिशत हो ।

त्यस्तै, नेता कृष्णप्रसाद सिटौला समूहले ६, प्रकाशमान सिंह समूहले ५, रामचन्द्र पौडेल समूहले ४ र शशांक कोइराला समूहले ३ सिट पाएको छ । यी चारै समूहले गरी पार्टीले प्राप्त गरेको कूल सिट संख्याको २० प्रतिशत हिस्सा पाएका छन् ।

कांग्रेसको गत १४औं महाधिवेशनबाट कांग्रेस भित्र नयाँ गुट जन्म भएको थियो । त्यसबखत इतर समूहको नेतृत्व डा शेखरले गरेका थिए भने सिंहले पनि सभापतिको उम्मेदवार बनेर नयाँ गुट जन्माएको सन्देश दिएका थिए । उनको समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा निर्वाचितसमेत बनेका थिए । यसैगरी सिटौला समूहले १४औं महाधिवेशनमा सभापतिमा देउवालाई नै साथ दिएको थियो भने पौडेल र शशांक मौन बसेका थिए ।

कांग्रेस सभापति देउवाले आगामी निर्वाचनका लागि टिकट वितरण गर्दा निर्वाचनको परिणामलाई असर नपर्ने गरी सबै पक्षलाई मिलाएको संस्थापन पक्षको दाबी छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *