दुई साता बित्दा पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनबाट भागे ७० जना, प्रहरीसँग झडप

काठमाडौ । पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला भएपछि सल्यानमा क्वारेन्टाइनमा बसेका ७० जना भागेर घर गएका छन् । सल्यानको बनगाड नगरपालिका–३ लहाघाटस्थित आधारभूत विद्यालयको क्वारेन्टाइनबाट भाग्ने क्रममा उनीहरूको प्रहरीसँग झडपसमेत भएको छ ।

गत १९ जेठदेखि उक्त क्वारेन्टाइनमा ७३ जना बसेका थिए । १७ दिनपछि मात्रै पिसिआर परीक्षणका लागि उनीहरूको स्वाब संकलन गरिएको थियो । तर, दुई हप्ता बित्दा पनि रिपोर्ट नआएपछि आक्रोशित भएका स्थानीय क्वारेन्टाइन छाडेर भागेका हुन् ।

नगरपालिकाका मेयर गोविन्दकुमार पुनका अनुसार भाग्ने क्रममा उनीहरूले प्रहरीलाई ढुंगामुढा गरेका छन् । उनीहरूको खोजी भइरहेको छ । मेयर पुनका अनुसार उनीहरूको स्वाब संकलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । त्यहाँको पिसिआर मेसिन बिग्रिएपछि नेपालगन्ज पठाइएको थियो । नेपालगन्ज प्रयोगशालाले ‘आज हुन्छ, भोलि हुन्छ’ भन्दै झुलाइरहेको उनले बताए । स्थानीय सरकारले रिपोर्ट चाँडो ल्याउन पहल नगर्दा एक महिनादेखि क्वारेन्टाइनमै बस्नुपरेकाले भागेको स्थानीयको गुनासो छ ।

कोरोना महामारी बढ्दै जाँदासमेत प्रदेश सरकारले राम्रो पिसिआर मेसिन व्यवस्थापन गर्न नसक्दा आफूहरूले रोकथामका लागि सास्ती खेप्नुपरेको मेयर पुनले बताए । ‘प्रदेश सरकारले यसबारे ध्यानै दिएको छैन । हामीहरूले क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनमा रातदिन खटिँदासमेत गाली खानुपरेको छ,’ उनले भने । कोरोना संक्रमण देखिएपछि बनगाड कुपिण्डे नगरपालिकामा मात्रै भारतबाट फर्किएका करिब २५ सयलाई क्वारेन्टाइनमा राखिएको थियो । तर, अहिले एक सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा रहेको नयाँ पत्रिकाकी स्थानीय पत्रकार मीना बुढाथोकीले बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *