काठमाडौं । आगामी मंसिर चारको निर्वाचनको मिति घोषणा भएसँगै साउन २० गते सत्तारुढ पाँच दलले चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गरे । पाँच दलको निर्णयसँगै तालमेलको खाका बनाउन कार्यदल गठन गरियो । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल छन् । यस्तै जसपाबाट रकम चेम्जोङ र रामसहाय यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा छन् । यो कार्यदललाई भदौ पहिलो साताभित्र सिट बाँडफाँट टुंग्याउन समय दिइएको थियो । कार्यदलले शीर्ष नेतालाई प्रतिवदेन पनि बुझायो । तर अपूरो प्रतिवेदन बुझाएको बताइएको छ ।
कार्यदल तह र शीर्ष नेता तहमा दर्जनौ बैठक भएपनि असोज आधाआधी हुँदा पनि गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो लागेको छैन । गठबन्धन दलका शीर्ष नेताले आजै सहमति, भोलि बिहान, भोलि बेलुकासम्म सहमति हुन्छ भनेको दर्जनौं पटक भइसक्यो । तर खै त सहमति भएको ? यसरी गठबन्धनभित्र गठजोडको कुरा नमिल्दा यतिबेला आफ्नै पार्टीका नेता कार्यकर्ताबाट शीर्ष नेता चेपुवामा पर्न थालेका छन् । भुइँको टिप्न खोज्दा गोजीको पोखिएको जस्तो गठबन्धन दलभित्र देखिन थालेको छ । नेकपा एमालेलाई एक्ल्याएर आगामी पाँच वर्ष फेरि शासन सत्ता संचालन गर्ने ध्येयले चुनावी तालमेल गर्ने तयारी गरेका नेताहरु अहिले आफ्नै पार्टीका नेताहरुले विद्रोह गरी दल त्यागको श्रृंखला भोग्न थालेका छन् ।
समानुपातिकतर्फको बन्द सूची बुझाइसक्दा पनि गठबन्धन दलभित्र सहमति नजुटेपछि नेताहरुसँग असन्तुष्टि जनाउँदै कांग्रेस, माओवादी, जसपाभित्र पार्टीबाट विद्रोह गरी एमाले प्रवेश गर्ने लहर नै चलेको छ । नेकपा एमालेले अरू पार्टीबाट एमाले प्रवेश गर्नेको संख्या आइतबारसम्म एक लाख नाघेको जनाएको छ । पार्टी प्रवेश गराउनका लागि एमालेले ‘पार्टी क्रस, एक लाख प्लस’ अभियान संचालन गरेको छ । एमाले प्रवेश गर्नेमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र लगायतका दलका नेता कार्यकर्ता छन् । एमाले प्रवेश गर्नेमा अन्य पार्टीका केन्द्रीय सदस्यदेखि सांसदसम्म रहेका छन् । अहिले एक लाख पुगेपनि यो संख्या लामो हुने एमाले नेताहरु बताउँछन् ।
समानुपातिकतर्फको उम्मेदवारी चयनमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कांग्रेसमा नेता डा. शेखर कोइराला पक्षले विद्रोहको चेतावनी दिइरहेको छ । देउवाले आफ्नै पत्नी आरजु देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी मञ्ज खाँणलगायत देउवा निकटकालाई मात्र राखेपछि कोइराला पक्ष देउवासँग रुष्ट बनेको हो । कांग्रेस नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए । उनी भन्छन्, ‘पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टी भित्र विद्रोह हुन्छ ।’ अर्का नेता भुपेन्द्रजंग शाही पनि टिकट वितरणमा पार्टी भित्र न्याय नभए विद्रोहको विकल्प नभएको बताउँछन् । उनले त पार्टीले टिकट नदिएपनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
असोज १६ गतेसम्म समानुपातिकको नाम सच्याउन पाइन्छ । यदि यो नसच्चिए कांग्रेसमा कोइराला पक्षले ठूलै विद्रोहको घोषणा गर्ने तयारी गरेको छ । यो समस्या माओवादी, जसपा, एकीकृत समाजवादीमा पनि छ । गठबन्धनले मुलुकको समस्या पार लगाउन नसक्ने भन्दै माओवादी, एकीकृत समाजवादी र जसपाका नेताहरु भकाभक एमाले प्रवेश गरिरहेका छन् । कति ठाउँमा त माओवादीका नेताहरुले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारीको घोषणासमेत गरिसकेका छन् । धनकुटामा त माओवादी नेताहरुले सामूहिक राजीनामा नै दिएका छन् ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, सदस्य र जिल्ला समन्वय समितिका सदस्यरुहले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । पोलिटब्युरो सदस्य हेमराज भण्डारीले पार्टी छाडेर प्रतिनिधिसभाको स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि उनलाई समर्थन जनाउँदै सबैले पार्टी छाडेको घोषणा गरेका हुन् । असोज १६ पछि यो संख्या अझ बढ्नेछ । किनकी समानुपातिको सूची सच्याउने असोज १६ सम्मको म्याद भएकाले उनीहरु पर्ख र हेरको अवस्थामा छन् । पार्टी छाड्नेको लहर चल्ने अर्को कारण भनेको गठबन्धनको सिट बाँडफाँट । सिट बाँडफाँटको सहमति सार्वजनिक भएपछि असन्तुष्टहरुले मोर्चा बनाउने पक्का छ ।
अरू पार्टीबाट एमाले प्रवेश गर्नेको संख्या एक लाख नाघ्यो(सूचीसहित)
