काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि लगाइएको दुई वटा ताला खुलेको छ । त्रिवि कर्मचारीको चौतर्फी दबाबपछि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दुई ठाउँको ताला खुलाएपनि बाँकी पाँच ठाउँको भने खुलेको छैन
नेविसंघले त्रिविको आर्थिक र कर्मचारी प्रशासन महाशाखामा लगाएको ताला आईतबार खुलाएको हो । नेविसंघले गत २७ असार देखि यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो । गत १२ साउन देखि उपकुलपति कार्यालयमा गरिएको तालाबन्दी पनि जारी छ ।
नेविसंघले परीक्षामा हुबहु प्रश्नपत्र सोध्नेलाई कारबाही हुनुपर्ने र समयमा नै नतिजा सार्वजनिक हुनुपर्ने लगायत माग अघि सार्दै तालाबन्दी गर्दै आएको छ ।
त्रिविले भने उनीहरुलाई कारबाही गरिसकेको र व्यक्तिगत गोपनियताका कारण नाम सार्वजनिक नगरिएको जनाउने गरेकोछ ।
तालाबन्दीका कारण कर्मचारीले दुई महिनादेखिको तलब सुविधा समेत पाउन सकेका छैनन् भने विश्वविद्यालयको आर्थिक कारोबार ठप्प भएको छ ।