ऋषि कट्टेल ।
नेपालको परिवेशमा नागरिकताको प्रश्न अत्यन्तै संवेदनशील छ । एकातिर नेपाली युवाहरु देश छोडेर हिँडिरहेका छन् भने अर्कोतिर अन्य देशहरुवाट मानिसहरुको प्रवेश बाँडिरहेको छ । विभिन्न देशहरुवाट शरणार्थीको रुपमा आएर नेपालमै बसोबास गर्नेहरुको संख्या पनि उल्लेख्य छ । विगतमा भारतवाट मात्र हुने प्रवेश अहिले बर्मा, भुटान, तिव्वत आदि ठाउँहरुबाट पनि मानिसहरु नेपालमा बसोवास गरिरहेका छन् ।
हुनत अहिले संसारका कतिपय देशहरुले आफ्नो देशमा आएर बसिदिन आग्रह समेत गरिरहेका छन् । तर नेपालको परिवेश भने अलिक भिन्न छ । हाम्रो दुवै तर्फका देशहरुको जनसंख्या यति धरै छ की यसको सानो प्रतिशतको भार पनि थेग्न सक्ने अवस्थामा नेपाल छैन । हाम्रो दक्षिणतिरको सीमा खुला छ र वीसौ करोड जनसंख्या गरिवीको रेखामुनि छ । गाँस बास र रोजगारी खौज्दै अनेकन देशहरुमा भौतारिइरहेका हामी सवैले अनुभव गरिरहेका छौं । यतिमात्र हैन भारतीय सत्ताको चरित्र प्रभुत्ववादी छ । उसले हाम्रो सीमा खुलम्खुला अतिक्रमण गरिरहेको छ ।
भारतीय एकाधिकार पूँजीवादे हाम्रो अर्थतन्त्रमाथि कव्जा जमाइरहेको छ । ऊ जनसांख्यिक अतिक्रणमार्फत नेपालको सार्वभौम सत्तामाथि नियन्त्रण कायम गर्ने तानावाना बुनिरहेको छ । यस्तो परिवेशमा नागरिकताको प्रश्न नेपालको सावैभौमिकतासँग जोडिएको प्रश्न बनेको छ । यस्तो संगीन विषयलाई राष्ट्रिय सहमति निर्माण गरेर नेपालीहरु बीचको भावनात्मक एकता कायम गरेर टुंगोमा पुग्नु पर्नेमा मालिकको इसारामा नेपाली जनतालाई विभाजित गराएर गठवन्धनवालाहरुले देशविरुद्ध गम्भीर अपराध गरेका छन् । देशको रक्षा गर्न राष्ट्रपतिले यिनका यि कुकृत्यलाई परास्त गर्न हिम्मत गर्नै पर्दछ यो कानुन प्रमाणीकरण गर्नै हुँदैन ।
